बिहीबार, १३ अगस्ट, २०२६
20:04 | ००:४९

देउवा काठमाडौँ फर्कंदा नेता कार्यकर्ताको जयजकार

रासस अगस्ट १३, २०२६

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै पाँच महिना लामो स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्किएका छन् ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सख्त घाइते भएका उनी पाँच महिनाअघि स्वास्थ्य उपचारका लागि सिङ्गापुर हुँदै हङकङ पुगेका थिए । स्वास्थ्य उपचार सकेर पूर्व प्रधानमन्त्री देउवा आज दिउँसो काठमाडौँ आइपुगेका हुन् ।

देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कांग्रेसका शीर्ष नेताहरू पूर्णबहादुर खड्का, डा शशाङ्क कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, एनपी साउद, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरीलगायत पुगेका थिए ।

पूर्व प्रधानमन्त्री देउवालाई विमानस्थल परिसरदेखि निवाससम्म देशभरबाट आएका कांग्रेसका सयौँ नेता कार्यकर्ताहरूले नारा जुलुससहित स्कर्टिङ गरेका थिए ।

स्वदेश फर्केपछि अपिल जारी

नेता देउवाले आजै एक अपिल जारी गर्दै आफूलाई हिमालका शिखर, पहाडका हरियाली हराभरा र तराईका विशाल मैदानहरूले पुनः आफ्नै घरतर्फ बोलाएको उल्लेख गरेका छन् । उनले आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।

पूर्व प्रधानमन्त्री देउवाले कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौँको राजनीतिक सङ्घर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी भएको बताए ।

“मैले हाम्रो युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै सुनेको छु । म स्पष्ट रूपमा भन्न चाहन्छु–काँग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको छ,” उनले भनेका छन्, “विश्व बदलिएको छ, र हामी पनि समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई हामी स्वीकार गछौँ । त्यसैले भौतिक पीडा सहँदासहँदै पनि गत भदौमा भएको जेनजी आन्दोलनको जायज मागलाई मैले सम्बोधन वोधन गर्नुपर्ने धारणा त्यति बेला नै राखेको थिएँ ।”

उनले आफूले राजनैतिक रूपमा लिनुपर्ने केही नभएको तर आफ्नो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नु पर्ने र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु आफ्नो दायित्व भएको पनि उल्लेख गरेका छन् ।

पूर्व प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका साथीहरू अहिले निराश अवस्थामा रहेका र उनीहरूको मनोबल बढ्ने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एक पटक जोड्नु पर्ने समय आएको बताएका छन् ।

उनले २०३३ सालमा बिपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनु पर्ने समय आएको उद्घोष गरेको स्मरण गर्दै फेरि ४७ वर्षपछि राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताएका छन् ।

“मैले सधैँ भन्ने गरेको छु मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानी काम गरेको छु,” उनले अपिलमा भनेका छन्, “कानुन र नीति विपरीत पारित कुनै काम गरेको छैन । मेरो जीवन खुला किताब हो । म प्रतिज्ञा गर्दछु अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तमहीत, संविधान कानुन र नैतिकता मूल्य मान्यता अनुरूप काम गर्नेछु ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू