बुधबार, वैशाख १२, २०८१
01:35 | ०६:२०

निर्वाचनका लागि सात अर्ब बराबरको स्रोत सुनिश्चित

रासस फ्रेब्रवरी ९, २०२१

अर्थमन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिंदै अर्थमन्त्री विष्णु पौडेल । तस्वीर- रत्न श्रेष्ठ, रासस

काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा रु सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई पहिलो चरणमा रु सात अर्ब बराबरको स्रोत उपलब्ध गराइएको जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाखमा निर्वाचन गर्ने घोषणा गरेकी छन् । अर्थमन्त्री पौडेलले खर्च नहुने विभिन्न क्षेत्र तथा आयोजनाको रकम निर्वाचनमा खर्च गर्ने गरी बजेट निर्धारण गरिएको बताए । उनले निर्वाचनमा हुने खर्चलाई मितव्ययी बनाउने समेत जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको चुनावका तयारीबारे बुझ्न मङगलबार निर्वाचन आयोगमा । चन्द्रकला क्षेत्री, रासस

आजै निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री पौडेलले निर्वाचनको तयारीबारे छलफल गरेका थिए । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले आयोगसँग छलफल भएको जानकारी दिए । पत्रकार सम्मेलनमा अर्थमन्त्रीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गत परियोजनासम्बन्धी संसद्बाट हुनुपर्ने अनुमोदन नयाँ संसद् गठन भएपछि हुने बताए ।

सो अवसरमा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले सो परियोजनाका लागि स्रोत सुनिश्चित गरिएको बताए । उनले प्रसारण लाइन र सडक परियोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्तिको काम अगाडि बढाउन उक्त स्रोतबाट खर्च गरिने जानकारी दिए । प्रसारण लाइनतर्फ नुवाकोटको रातमाटेमा जग्गा प्राप्तिको काम अगाडि बढेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू