जेन जी प्रदर्शनमा प्रहरी दमन: भ्रष्ट नेतालाई देश निकाला गर्न एनआरएनए यूकेको माग



लन्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेले नेपालमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जेन जी पुस्ताका युवामाथि भएको निर्मम दमन र हत्याप्रति घोर भर्त्सना गरेको छ।
संघले जारी गरेको विज्ञप्तिमा ८ सेप्टेम्बरमा काठमाडौंसहित विभिन्न शहरमा भ्रष्टाचारविरुद्ध प्रदर्शनमा सहभागी विद्यार्थीमाथि भएको गोली प्रहार र हत्यालाई “अमानवीय र निर्मम अपराध” उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “न्याय, पारदर्शिता र जनअधिकारका पक्षमा आवाज उठाउने यी युवाहरू आज भ्रष्टाचार विरोधी आन्दोलनका सहिद बनेका छन्। हामी उनीहरूको बलिदानलाई उच्च सम्मानका साथ स्मरण गर्दै नेपालका जेन–जेड सहिद घोषणा गर्दछौं।”
प्रेस विज्ञप्ति जस्ताको तस्तै:
प्रेस विज्ञप्ति
मिति: ०८ सेप्टेम्बर २०२५
लन्डन, संयुक्त अधिराज्य (बेलायत)
एनआरएनए यूकेको तर्फबाट नेपालका जेन जी प्रदर्शनकारीहरूको निर्मम हत्याप्रति घोर भर्त्सना
गैर आवासीय नेपाली संघ (एनआरएन यूके ले काठमाडौं तथा नेपालका अन्य शहरहरूमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवामाथि नेपाल सरकारद्वारा गरिएको निर्मम र अमानवीय कार्यहरूको घोर भर्त्सना गर्दछ।
०८ सेप्टेम्बर २०२५ का दिन जुझारु विद्यार्थीहरू, जसले नेपालको जेन जी पुस्ताको प्रतिनिधित्व गरेका थिए, भ्रष्टाचार विरोधी शान्तिपूर्ण आन्दोलनमा सहभागी हुँदा निर्दयतापूर्वक हत्या गरिएको छ।
न्याय, पारदर्शिता र नेपाली जनताको अधिकारका पक्षमा आवाज उठाउने यी साहसी युवाहरू अहिले भ्रष्टाचार विरोधी आन्दोलनका सहिद बन्न पुगेका छन्।
एनआरएनए यूकेको तर्फबाट हामी गहिरो समवेदना र हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै शोकसन्तप्त परिवारजनप्रति हामी पूर्ण सहानुभूति प्रकट गर्दछौं। यी वीर युवाको बलिदानलाई उच्च सम्मानका साथ स्मरण गर्दै हामी उनीहरूलाई नेपालका जेन जेड सहिद (०८ सेप्टेम्बर २०२५) घोषणा गर्दछौं।
अन्तर्राष्ट्रिय प्रवासी नेपाली समुदायको प्रतिनिधि संस्थाको हैसियतले एनआरएनए यूकेले यस भ्रष्टाचार विरोधी आन्दोलनसँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ। नेपालका युवाहरूको एजेन्डा—न्यायपूर्ण, पारदर्शी र जवाफदेही राष्ट्र निर्माण हाम्रो पनि साझा एजेन्डा हो।
हामी नेपाल सरकारलाई कडा शब्दमा आग्रह गर्दछौं कि:
• शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि भइरहेको दमन तत्काल रोकियोस्।
• निर्दोष युवाहरूको हत्या प्रकरणको जिम्मेवारी नेपाल सरकारले पूर्ण रूपमा लिनुपर्छ।
• दोषीहरूलाई छिटो पहिचान गरी कानूनी दायरामा ल्याउनुपर्छ।
• भ्रष्टचारी नेताहरूलाई तत्काल देशबाट निष्कासन गरियोस्।
• घाइतेहरुको निशुल्क उपचार गरियोस्।
यदि राष्ट्रिय स्तरमा न्याय नदिलाइएमा एनआरएनए यूकेले यो मुद्दा अन्तर्राष्ट्रिय मानवअधिकार निकाय तथा न्यायिक संस्थाहरूमा लैजानेछ।
बेलायतसहित विश्वभरका सम्पूर्ण प्रवासी नेपालीहरूको तर्फबाट हामी सहिद परिवारलाई आश्वस्त पार्न चाहन्छौं कि उनीहरूको छोराछोरीको बलिदान व्यर्थ हुनेछैन। उनीहरूको संघर्ष हाम्रो पनि संघर्ष हो, र न्याय प्राप्ति हुनेसम्म हाम्रो प्रतिबद्धता जारी रहनेछ।
नेपालका जेन जेड सहिद (०८ सेप्टेम्बर २०२५) को आत्माले शान्ति पाओस्। उनीहरूको साहसले पुस्तौँलाई प्रेरणा दिनेछ, र उनीहरूको बलिदानले भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्ने हाम्रो सामूहिक संकल्पलाई अझ सबल बनाउनेछ।
गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५