सोमबार, ८ सेप्टेम्बर, २०२५
12:05 | १६:५०

बेलायतवासी गल्कोटेहरूको तथ्यांक संकलन गर्दै गल्कोट समाज यूके

नेपाली लिङ्क सेप्टेम्बर ८, २०२५


लन्डन- गल्कोट समाज यूकेले बेलायतमा बस्ने सम्पूर्ण गल्कोटेहरूको तथ्यांक संकलन गर्ने विशेष अभियान सुरु गर्ने भएको छ।

नवनिर्वाचित अध्यक्ष विष्णु चालिसेको अध्यक्षतामा गत आइतबार बसेको पहिलो भर्चुअल बैठकले बेलायतवासी सम्पूर्ण गल्कोटेहरूको अभिलेख यस वर्षको अन्त्यभित्र तयार गर्ने र समाजको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ।

तथ्यांक संकलनबाट बेलायतमा बसोबास गर्ने गल्कोटेहरूको दुःख–सुखमा साथ दिनुका साथै, को कहाँ छ भन्ने पहिचान गर्न र नयाँ पुस्तालाई आफ्नै मूल र पुर्खाको इतिहासबारे जानकारी दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तथ्यांक संकलनका लागि बेलायतभरका विभिन्न क्षेत्रीय संयोजक तोकेर जिम्मेवारी दिइएको छ। जसअनुसार लन्डन क्षेत्रमा उपाध्यक्ष राजु बोहोरा, सचिव राजु सापकोटा, सदस्य हरिसिंह थापा र पूर्व अध्यक्ष भोजराज कंडेललाई जिम्मा दिइएको छ।

मिडल्यान्ड र वेल्स क्षेत्रमा उपाध्यक्ष सुरेश भण्डारी, निवर्तमान अध्यक्ष चन्द्र साहनी, सदस्य डा. पुष्पदत्त उप्रेती र पूर्व महासचिव डिलाराम गौतमलाई जिम्मेवारी तोकिएको छ भने स्कटल्याण्ड र नर्दन आयरल्याण्ड क्षेत्रमा उपाध्यक्ष धन केसी, महासचिव गोविन्द कंडेल र संस्थापक अध्यक्ष रेशम बुढाथोकीले जिम्मेवारी पाएका छन्।

बैठकले तथ्यांक संकलन अभियानमा बेलायतबासी सम्पूर्ण गल्कोटेहरूलाई समाजको इमेल, सामाजिक सञ्जाल वा सम्बन्धित पदाधिकारीमार्फत् सम्पर्क गरी सहयोग गर्न आग्रह गरेको छ।

बैठकले नयाँ कार्यकालका लागि थप सल्लाहकार र रिक्त कार्यसमिति सदस्यहरूको मनोनयन गरेको छ। जसअनुसार गंगा गौतम (वुल्भरह्याम्पटन), डिलाराम गौतम (नटिङहम), लिला थापा (बर्मिङहम), अणनाथ गैरे (लन्डन), दिलु गैरे (ग्लास्गो), विरजंग भण्डारी (गल्कोट) र तेजेन्द्र बुढाथोकी (गल्कोट) सल्लाहकारमा चयन भएका छन् भने रुद्रलाल गैरे (ग्रान्थम) र राजेश मल्ल (डार्बी) कार्यसमिति सदस्य मनोनित भएका छन्। खेलकुद विभागको संयोजकको जिम्मेवारी बम नेपालीलाई दिइएको छ।

बैठकले यस वर्षको तिहारमा लन्डन, मिडल्याण्ड/ वेल्स र स्कटल्याण्ड/ नर्दन आयरल्याण्डका तीन वटै क्षेत्रमा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने र त्यसको संयोजन गर्ने जिम्मेवारी सम्बन्धित क्षेत्रीय उपाध्यक्षहरूलाई दिने निर्णय गरेको छ।

त्यस्तै, बेलायतमा गल्कोट तथा बाग्लुङ जिल्लाका अन्य संस्थासँग समाजले सहकार्य गर्दै सामाजिक एकता मजबुत बनाउन बैठक तथा वार्ताको पहल गर्ने जिम्मेवारी अध्यक्ष विष्णु चालिसेलाई दिइएको छ।

बैठकमा अध्यक्ष चालिसेले संस्थालाई अझ मजबुत बनाउन यो कार्यकाललाई सफल पार्न जरूरी रहेको भन्दै सबैको सहयोग र सहकार्य रहने विश्वास व्यक्त गरे।

अध्यक्ष चालिसेले अध्यक्षता र महासचिव गोविन्द कंडेलले संचालन गरेको बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारी सहभागी थिए।

स्थापना भएको छोटो समयमै उल्लेखनीय सामाजिक कार्य गर्दै आफ्नै स्वामित्वमा भवन खरिद गर्न सफल समाजले हालै सम्पन्न पाँचौं अधिवेशनमार्फत २०२५–२०२७ कार्यकालका लागि विष्णु चालिसेको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन गरेको थियो।

नवनिर्वाचित कार्यसमिति

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू