शुक्रबार, चैत १६, २०८०
18:30 | ००:१५

निर्मलसहितका आरोहीलाई पोखरामा नागरिक अभिनन्दन गरिने

रासस फ्रेब्रवरी ५, २०२१


काठमाडौं । शिशिर ऋतुमा दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहरण गरेर कीर्तिमान राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ ।

पोखराका पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा माघ २६ गते पोखरा विमानस्थलमा बाजागाजासहित स्वागत गर्दै बजार परिक्रमा गरेर अभिनन्दन गर्न लागिएको शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले  भने, ‘यो नेपालको शिर उचो बनाउने निकै गर्विलो क्षण हो, विश्वमाझ नेपाललाई थप चिनाउन सफल आरोही हिरोलाई पर्यटकीय नगरी पोखरामा भव्य स्वागत गर्न पाउनु निकै खुशीको कुरा हो ।’

उनले विदशी पर्यटक नेपाल आउन खोजेपनि सरकारको नीति नियमले बाधा पुर्‍याइरहेको जनाउँदै कोरोनाको खोप लगाएका पर्यटकलाई सहज आगमनको व्यवस्था गर्न र गण्डकी प्रदेशले शुभारम्भ गरेको एक अर्बको व्यवसाय जीवन रक्षा कोषको पनि सबै व्यवसायीलाई सर्कुलर गरेर छिटोभन्दा छिटो कार्यान्वयनसमेत गर्न सोही पत्रकार सम्मेलनमार्फत सरकारलाई आग्रह गरे   

 उक्त अभिनन्दन कार्यक्रमका संयोजक ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्लका अध्यक्ष सुशिलराज पौडेलले ‘किलर माउण्टेन’ भनेर चिनिने निकै चुनौतिपूर्ण रहेको केटु हिमालको सफल आरोहरणले नेपालको नामलाई विश्वमा चिनाउन सफल भएको बताए । उनले आरोही दलका संयोजक निर्मल पूर्जा गण्डकी प्रदेश, म्याग्दी जिल्लाको भएकाले पनि यो प्रदेशकै लागि झन ठूलो र गर्विलो क्षण भएको बताए   

कार्यक्रमको सहसंयोजक नेपाल पर्वातारोहरण गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा पर्वतारोहण पर्यटनलाई प्रवर्द्धन गरेर विदेशी तथा नेपाली पर्यटकलाई पर्वतारोहणमा आकर्षण गर्न केटु हिमाल आरोहणले सकारात्मक सन्देश दिएको र यसले साहसिक पर्यटन प्रवर्द्धन सहयोग पुग्ने विश्वास व्यक्त गरे   

परिषद्का महासचिव रामचन्द्र शर्माले यही माघ २६ गते पोखराका पर्यटन र अन्य संघसंस्थासहितले नागरिकको सहभागितामा बाजागाजासहित पोखरा परिक्रमा गर्ने कार्यक्रम रहेका जानकारी दिए  । उनका अनुसार आरोहीलाई पोखरा एयरपोर्टबाट नयाँ बजार महेन्द्रपुल, न्यूरोड, जिरोकिमी, हल्लनचोक हुँदै लेकसाइडको माउण्ट कैलाश होटलमा पुगेर समापन हुने कार्यक्रम छ ।   

पाकिस्तानमा रहेको केटु हिमाल (८६११ मिटर) नेपालका १० जना पर्वतारोहीले माघ ३ गते शनिबार आरोहरण गरेर इतिहास रचेका थिए । उक्त हिमालमा हिउँदको समयमा कोही आरोहीपनि पुग्न सकेको थिएनन् । हिमाल आरोहरण गर्ने निर्मल पुर्जाको आरोहरण दलका नेपाली मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा, दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा छन् भने सेभेन समिट नामको आरोहरणबाट सोना शेर्पाले सफल आरोहरण गर्न सफल भएका थिए । उक्त हिमालमा सन् १९८७-८८ मा पहिलो प्रयास गरिएपनि हिउँदमा पुग्ने प्रयास भएपनि सफल आरोहण पुर्जा नेतृत्वको टोली सफल भएको हो । 

सोही अवसरमा नेपाल पर्वतारोहरण संघ गण्डकी प्रदेशको आयोजनामा गरिएको धम्पुस पिक(थापा पिक ६०१९) आरोहण कार्यक्रममा गण्डकी प्रदेशका छ जना आरोहीले सफलता पूर्वक आरोहण गरेकाले उनीहरुलाई पनि उक्त दिन सम्मान गर्ने कार्यक्रम रहेको परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू