


वीन्टर सिजन (जाडो याम) मा विश्वको दोस्रो अग्लो हिमाल ‘के–टु’ तर्फ प्रस्थान गरेको भाई निर्मल पूर्जाले प्रतिकुल मौसमका कारण समस्या पर्यो भन्ने खवर सुन्दा दुःखी भएको थिएं । जाडो समयमा सुनसान जस्तै हुने हिमालतर्फ लम्किएका भाईको सफलताका लागि भगवानसंग निरन्तर प्रार्थनासंगै ताजा जानकारी लिने क्रममा शनिबार पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो ‘के–टु’ हिमालमा विन्टर सिजन (जाडोयाम) मा सफल आरोहण गरेको खवर पाएं । प्रतिकुल मौसमले भाईको यात्रा रोक्न सकेन ।
पर्वतारोहण क्षेत्रमा भाईले दोस्रो दुर्लभ कीर्तिमानी कायम गर्न सफल भएकोमा निकै खुशी छौं । निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहणको विश्व कीर्तिमान बनाएर अन्तरराष्ट्रिय स्तरमै ठूलो चर्चा कमाउंदा घरमा आमा हुनुहुन्थ्यो । अहिले आमा हुनुहुन्न । उहांको सम्झनामा भाईको खुशी मनाइरहेका छौं । अघिल्लो वर्ष आमा भाईलाई हेलिकप्टरमै लिन बेस क्याम्पसम्म पुग्नुभएको थियो । भाईको सफलताको खुशीयाली मनाउंदै गर्दा आमाको अकस्मात निधन भयो ।
अग्ला हिमालमा लगातार आरोहण गर्ने सक्ने शक्ति भाईलाई प्राप्त भएको देखेर हामी अचम्मित छौं । अघिल्लो वर्ष भाईले विश्वमै राखेको कीर्तिमानले हाम्रो परिवारसंगै नेपाल र जन्मभूमि म्याग्दीलाई समेत विश्वमा चिनाउन सफल भयो । मैले भाईको हरेक यात्रालाई सफल बनाउन भगवानसंग प्राथर्नासंगै आरोहण सफलताका लागि हरेक घण्टा भगवानसंग पुकार गर्ने गर्दथें । सात समुन्द्रपारी भएका हामीले जन्मभूमिका सबै हिमालको आरोहण गरेपछि चीन र पाकिस्तानमा पुगेको अवस्थामा तत्कालै सूचना प्राप्त गर्न समस्या भइरहेको थियो । भाईको हरेक गतिविधि कसैसंग प्रतिष्पर्धा नभई आफूसंग प्रतिष्पर्धा गर्ने दौडमा रहेका भाईले घमण्डलाई कहिल्यै पनि स्वीकार गरेन । उसको दिमागमा घमण्डले स्थान पाउनै सकेन ।
पर्वतारोहणमा भाईले विज्ञता प्राप्त मात्रै गरेको छैन् । विश्वका साना र ठूला हिमाल आरोहणका क्रममा धेरै आरोहीलाई मृत्युको मुखबाट समेत जोगाएको छ । सिकिस्त अवस्थामा रहेका आरोहीको जीवन रक्षामा भगवानले भाईलाई त्यो ठाउंमा पठाएको जस्तै महसुस भएको छ । मेरो बुबाआमा बिरामी हुंदा समेत भाईको सफलतालाई आफ्नो रोगभन्दा धेरै चिन्ता थियो । हिमाल आरोहण अब पनि हुनसक्छ तर पहिलोको जस्तो रफ्तार अब हुंदैन, अब हिमाल आरोहणमा जानेहरुलाई भाईले सुरक्षित यात्राको वातावरण बनाउने छ । भाईले आरोहणका लागि आफ्नो सम्पत्ति बेवास्ता गरयो, उसलाई करोडौंको पेन्सनले समेत आकर्षण गर्न सकेन् । उसको अभियानलाई सफल बनाउन हामीले व्यक्तिगत कामलाई समेत कम प्राथमिकता दिने अवस्था भयो ।
हाम्रो बुबाले भारतीय सेनामा मेजरको बढुवालाई समेत छोडेर परिवारलार्ई समय दिनुभयो । परिवारको आवश्यकताभन्दा पैसालाई बुबाले कहिल्यै पनि ठूलो सम्झिनुभएन । दानाबाट चितवनसम्म मेरो बुबाआमाले छोराछोरीको हितमै धेरै काम गर्ने योजना बनाउनुभयो जसलाई आज भाईले पुरा गर्दैछ । आफ्नो बुढेशकालमा गम्भीर रोगबाट ग्रसित हुंदा समेत ठूला भएका छोराछोरीको सफलतालाई जटिल रोगसंगै लडेर भएपनि साथ दिनुभयो । जेठो दाई गंगाबहादुरले गाउंमै शिक्षण पेसाबाटै ब्रिटिश आर्मीमा भर्ना हुनुभयो । दाईले ब्रिटिश आर्मीमा आफ्नो ब्याचमा खेलकुदमा औधि रुची राख्ने धावक समेत हुनुहुन्थ्यो । जेठो दाईले समेत खेलकुदमा हामीलाई प्रोत्साहन गर्नुहुन्थ्यो । गाउंमै शिक्षक पेशामा कार्यरत दाई जीतबहादुरले अवकासपछिको जीवनलाई सामाजिक क्षेत्रमा खर्चिनुभएको छ । सबै भाई गोर्खामा आर्कषित हुंदा जीतलाई शिक्षण पेशा नै मनपरयो ।
हाम्रो परिवारकी एकमात्रै बहिनी अनिताले नर्सिङमा बिएसम्मको अध्यययनसंगै नेपाल सरकारबाट विद्या पदकबाट सम्मानित समेत भइन् । अहिले अष्टेलियामा रहेकी बहिनी अनिताको सफलताले उत्साहित छु । मेरो परिवारमा बुबाआमाको सामाजिक तथा राजनीतिक यात्रामा सबै छोराछोरीले साथ दिएको अवस्था छ । बुबा नन्दबहादुर धेरै खुसी हुनुहुन्छ । स्वर्गीय आमा पूर्णकुमारी पूर्जाले ब्यक्तिगतभन्दा पनि समाजको फाइदाका लागि धेरै काम गर्नुभएको छ । मेरो आमाको तत्कालिन योगदान पञ्चायतकालामा महिला सभापति, म्याग्दी जिल्ला सदस्य सहित धेरै पदमा बसेर सेवा गर्नुभएको छ । आमाको इतिहासलाई जोगाउन भाई निर्मलले आफ्नै क्षेत्रमा भएको हिमालबाट आरोहण सुरुवात गरेको पनि अर्को महत्वपूर्ण पाटो हो ।
भाईको सफलतामा बुहारी सुची गुरुङ पूर्जाको ठूलो योगदान छ । बुहारीको साथ र सहयोगले ‘एक रथको दुई पाङ्ग्रा’ को परिचयलाई थप प्रष्ट पारेको छ । बुहारीले जोखिम अवस्थामा समेत दिएको उर्जाको उपलब्धि नै अहिलेको विश्व रेकर्ड कायम गर्ने वातावरण बनेकामा धेरै खुशी छु ।
भाईको सफलतामा परिवारको मात्रै हात छैन् । भाई निर्मलले विश्वभर अर्को खुशीको सन्देश प्रवाह गरेको छ भने हाम्रो परिवारमा अर्को खुशी थपिदिएको छ ।
(लेखक आरोहणमा विश्व कीर्तिमान राख्ने निर्मल पूर्जाका माइलो दाई हुन्)


