बुधबार, ५ नोभेम्बर, २०२५
22:56 | ०४:४१

नेपालसँग दीर्घकालीन विकास साझेदारीप्रति बेलायतको पुनः प्रतिवद्धता

नेपाली लिङ्क नोभेम्बर ५, २०२५

काठमाडौँ, कात्तिक १९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले बेलायती निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नेपालका लागि बेलायतका राजदूत रोब फेनले मन्त्री सिन्हासँग गरेको भेटवार्तामा सिन्हाले नेपालमा भएको राजनीतिक स्थायित्व र नीति सुधारले लगानीको वातावरण सुधारिएको भन्दै त्यस्तो आग्रह गरेका हुन् ।

मन्त्री सिन्हाले नेपालको विकास प्राथमिकता विशेष गरी औद्योगिक विकास, व्यापार प्रवर्धन र निजी क्षेत्र सुदृढीकरण रहेको जानकारी गराउँदै दिगो विकासका लागि बेलायतको निरन्तर सहकार्य आवश्यक रहेको बताए ।

नेपालको दिगो आर्थिक विकास, सुशासन, जवाफदेहिता र पारदर्शी शासनप्रणालीका लागि आवश्यक सहयोगबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री सिन्हाले नेपाल–बेलायत सम्बन्ध ऐतिहासिक र विश्वासमूलक रहेको उल्लेख गर्दै भावी दिनमा पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाइने विश्वास व्यक्त गरे ।

भेटमा राजदूत रोब फेनले नेपालसँगको दीर्घकालीन विकास साझेदारीप्रति बेलायतको प्रतिबद्धता दोहोरयाउँदै औद्योगिक विकास, वैदेशिक व्यापार, बौद्धिक सम्पत्ति अधिकार तथा पर्यटन क्षेत्रको प्रवर्धनमा सहकार्य गर्न बेलायत तयार रहेको बताए ।

सन् २०२४ मा हस्ताक्षर भएको ग्रीन ग्रोथ नेपाल (जिजिएन) र नेपाल इन बिजिनेस (एनआइबी) कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट नेपालको हरित उद्योग, समावेशी विकास र गरिबी निवारणमा योगदान पुग्ने विषयमा छलफल भएको थियो ।

सन् २०२६ पछि नेपाल कम विकसित देशको सूचीबाट बाहिरिने तयारी, सन् २०३० सम्मको दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता र दुवै देशबीच व्यापार तथा लगानी प्रवर्धनका उपायबारे पनि विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू