मंगलबार, ४ नोभेम्बर, २०२५
21:53 | ०३:३८

लन्डनबाट फर्किए राजदूत, उपनियोग प्रमुखलाई कार्यवाहकको जिम्मेवारी

नेपाली लिङ्क नोभेम्बर ४, २०२५

कार्यवाहक राजदूत विपिन दुवाडी

लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे मंगलबार नेपाल फर्किएका छन्। राजदूत घिमिरे धर्मपत्नी सरिता न्यौपाने घिमिरे र दुई सहयोगीका साथ ६.५५ को कतार एयरवेज फ्लाइटबाट नेपाल फर्किएका हुन् ।

परराष्ट्र मन्त्रालयले फिर्ता बोलाइएका ११ देशका राजदूतलाई ३ दिनभित्र मन्त्रालयमा उपस्थित हुन सोमबार निर्देशन दिएसँगै घिमिरे पनि स्वदेश फर्किएका हुन् ।

घिमिरेलाई विदाइ गर्न कार्यवाहक राजदूत विपिन दुवाडी र दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाह हिथ्रो विमानस्थल गएका थिए ।

घिमिरेले गत १७ जनवरी २०२५ मा लन्डनस्थित नेपाली दूतावासमा २३औँ राजदूतका रूपमा कार्यभार सम्हालेका थिए । नेपाल सरकारले फिर्ता बोलाएपछि उनी करिब नौ महिनामै नेपाल फर्कनु परेको हो ।

मन्त्रालयले सोमबार जारी गरेको पत्रमा प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरिय निर्णय बमोजिम सम्बन्धित देशका राजदूतहरू फर्किएपछि उपनियोग प्रमुखले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, संयुक्त राज्य अमेरिका र जापानमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाएको छ ।

दुवाडीले बुधबारदेखि औपचारिक रुपमा कार्यभार सम्हाल्ने

कार्यवहाक राजदूत दुवाडीले बुधबारदेखि औपचारिक रुपमा कार्यभार सम्हाल्ने जनाए ।

उनले अब थाती रहेको गोर्खा मुद्धा अगाडि बढाउने बताए । यसका लागि बेलायती रक्षा मन्त्रालयका पदाधिकारीहरुसंग छलफल भइरहेको र त्यसअघि जी टेन बैठक डाकिने उनले जनाए । आफूले आर्थिक कूटनीति, पर्यटन, व्यापार वृद्धिलाई प्राथमिकता दिने पनि दुवाडीको अठोट छ ।

नेपाली डायष्पोरासंग सम्बन्ध अझ सुदृढ बनाइ निकट रहेर काम गर्ने र सेवा प्रवाह थप सुधार गर्ने पनि उनले बताए ।

कार्यवाहक राजदूत दुवाडीले आउंदो १० तारिखका दिन स्कटल्याण्डमा घुम्ती कन्सुलर शिविर गर्न लागिएको जनाए । गत २ नोभेम्बरमा आयरल्याण्ड र त्यसअघि वेल्समा यस्तो शिविर सम्पन्न भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू