शुक्रबार, वैशाख ७, २०८१
17:49 | २२:३४

बेलायतमा केहि दिनमै दैनिक ६९० जनासम्म कोरोना संक्रमितको मृत्यु !

दुई हप्ताका लागि 'सर्किट ब्रेक' गर्न प्रधानमन्त्रीलाई दवाव

नेपाली लिङ्क अक्टोबर १६, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण दैनिक ७ सयको हाराहारीमा मृत्यु हुनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । कोरोना संक्रमण र मृत्यु दरमा तीव्रता आइरहेको बेला वैज्ञानिकहरुको यो भनाइ सार्वजनिक भएको हो । आगामी दुईसातायता दैनिक रुपमा २ सय ४० देखि ६ सय ९० जनासम्म कोरोना संक्रमितको मृत्यु हुने उनीहरुको दावी छ ।

गत मार्च अन्तमा भएको अवस्था दोहोरिने भन्दै विज्ञहरुले कम्तिमा दुई हप्ताका लागि ‘सर्किट ब्रेक’ लकडाउन गर्न प्रधानमन्त्री बोरिस जोन्सनलाई दवाव दिएका छन् । तर, जोन्सनले भने उक्त चेतावनी वेवास्ता गर्दै आएका देखिएको छ । पछिल्लो समय बेलायतमा तीव्र गतिमा कोरोना संक्रमण बढ्दै गएपछि तीन तहको प्रतिवन्धात्मक नियम लागू भइसकेको छ ।

दैनिक ४७ हजारसम्म संक्रमित हुनसक्ने भन्दै गत अक्टुबर १२ मा ‘द मेडिकल रिसर्च काउन्सिलले एक तथ्याँक सार्वजनिक गरेको थियो । शुक्रबार थप १५ हजार ६ सय ५० जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।

योसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार हाराहारीमा पुगेको छ । यसैगरी गएको २४ घन्टामा एक सय ३६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ हजार ४ सय २९ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या पनि दैनिक उकालो चढ्दैछ । पछिल्लो २४ घन्टामा ८ सय ४४ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् ।

अहिले हस्पिटलमा उपचारार्थ कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ११ पुगेको स्वास्थ्य विभागले जनाएको छ । अहिले ५ सय ८० जनाको भेन्टिलेटर बेडमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू