शुक्रबार, चैत १६, २०८०
13:39 | १९:२४

काठमाडौँ महानगरपालिकामा दश हजार सङ्क्रमित

रासस अक्टोबर ३, २०२०

नयाँ वानेश्वरबाट देखिएको काठमाडौँ शहरको दृश्य । तस्वीर- चन्द्रकला क्षेत्री, रासस

काठमाडौं । काठमाडौँ महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना सङ्क्रमित भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८७१ सङ्क्रमित भएका छन् ।

त्यसैगरी वडा नं ३, ११, १३, १६ मा पनि ५०० बढी सङ्क्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए । होम आइसोलेसनमा बस्नेको सङ्ख्या दुई हजार ९९० छ । अस्पतालमा उपचार गराइरहेका ५७२, संस्थागत आइसोलेसनमा ५८३ रहेका छन् । पाँच हजार ५०९ जना निको भएर घर फर्किसकेको कामपाको भनाइ छ । प्रमुख कुँवरका अनुसार सङ्क्रमणको कारण ८० जनाको मृत्यु भएको छ ।

सरकारले भने अनुरुप पछिल्लो समय भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचक्र्याइँ बढेपछि काठमाडौँ उपत्यका कोरोना भाइरस सङ्क्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिकजसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको प्रमुख कुँवरको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिकी सञ्चालन गर्नका लागि बजार खुला गरे पनि नागरिकहरु स्वयं सतर्क रहन आवश्यक रहेको बताउँदै आएको छ । अहिले देशभरिको कूल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना सङ्क्रमणमुक्त भएका छन् ।

हाल देशभर २१ हजार २३४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ११ हजार ७६० होम आइसोलेसनमा छन् । नौ हजार ४७४ संस्थागत आइसोलेसनमा छन् । यसमध्ये २१० आइसियू र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू