बुधबार, ८ जुलाइ, २०२६
11:39 | १६:२४

बेलायतको बर्मिङहममा पहिलोपटक आयोजना हुंदै तीज मेला

नेपाली लिङ्क जुलाइ ८, २०२६

लन्डन- नेपाली महिलाहरुले मनाउने पावन पर्व हरितालिका तीजका अवसरमा यस वर्ष बेलायतमा एक बृहद तीज मेला आयोजना हुने भएको छ ।

शान्ति नेपाली समाज बेलायतले आगामी अगष्ट १० तारिख सोमबार बर्मिङहमको वेष्ट ब्रोमिचस्थित वेष्ट ब्रोमिच कोलेगिएट एकेडेमीको खुला मैदानमा पहिलो बर्मिङहम तीज मेला गर्ने भएको हो।

तीज पर्वको मौलिकता र यसको सांस्कृतिक महत्वलाई संरक्षण एवम् प्रवर्द्धन गर्ने उद्धेश्य राखेर पहिलोपटक मौलिक र पृथक शैलीमा मेला गर्न लागिएको हो ।

खुला चौरमा बेलायतभरका दिदीबहिनीको जमघट गरेर नेपालकै जस्तै मौलिक शैलीमा तीज गीतमा नाचगान गर्दै रमाइलो गरिने आयोजकले जनाएको छ।

मेलामा बर्मिङहम र मिडल्यान्डबाट मात्र नभइ सिंगो बेलायतबाट सहभागिता अपेक्षा गरिएको छ। सहभागीहरुले मौलिक तीजको शैलीमा आ-आफ्नै समूहमा तीजका गीतहरुमा नाचगान गर्नेछन् ।

मेलामा सांगीतिक प्रस्तुतिका लागि नेपालबाट लोकप्रिय गायिका मेलिना राई आउने भएकी छन् । अहिले बेलायतमै रहेका अरु केही राष्ट्रिय र स्थानीय कलाकारसमेतले प्रस्तुति गर्नेछन्।

त्यस्तै, मेलामा बेलायतका विभिन्न स्थानबाट आउने टोलीका भजन प्रस्तुतिदेखि नौमती बाजा, लाखे नाचसहितका अरु सांस्कृतिक कार्यक्रम पनि रहनेछन् ।

मेलाको अर्को मुख्य आकर्षण बेलायतव्यापी भलिबल प्रतियोगिता छ। एक दर्जन बढी टीमको सहभागिता रहने प्रतियोगिताका विजेताले १६ सय पाउण्ड र उपविजेताले १ हजार पाउण्ड नगदसहितको पुरस्कार प्राप्त गर्नेछन्।

सो अवसरमा बालबालिकाको फुटबल, घैंटो फुटाउने जस्ता खेलहरु पनि समावेश गरिएको छ । बालबालिकालाई बाउन्सी क्यासलसहितका खेल र मनोरञ्जन पनि व्यवस्था गरिंदैछ ।

मेलास्थलमा नेपाली खानादेखि विभिन्न सामग्री र सेवा उपलब्ध गराउने दर्जन बढी स्टलहरु पनि राखिनेछन् ।

मेलामा अतिथिका रुपमा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीदेखि स्थानीय बेलायती सांसद, मेयर, काउन्सिलरहरुका साथै बेलायतभरका प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

त्यस्तै, सोही समयमा युरोप भ्रमणमा आउन लागेका नेपालका परराष्ट्रट्रमन्त्री शिशिर खनालसमेतलाई मेलाको निमन्त्रणा पठाइएको छ ।

‘बेलायतमा हुने हरेक नेपाली कार्यक्रम उस्तै लाग्न थालेका छन् । हलभित्र कार्यक्रम, खानपिन अनि केही कलाकारको नाचगान’, आयोजक शान्ति नेपाली समाजका महासचिव राजेशमणि लामिछानेले भने, ‘त्यही मानकलाई बदल्ने प्रयासमा तीज मेलाको सोच बनाएका हौं ।’

मेलालाई भविष्यमा ‘सिग्नेचर इभेन्ट’ का रुपमा विकास गर्दै बेलायतभरका सम्पूर्ण नेपालीहरुको सहभागिता रहने साझा कार्यक्रम बनाउने लक्ष्य आयोजकको छ ।

मेला आयोजनाका लागि समाजका पूर्व अध्यक्ष कोशलेश्वर ढकालको नेतृत्वमा एक व्यवस्थापन समिति गठन गरेर तयारी अघि बढाइएको छ ।

समितिको सदस्यहरुमा अध्यक्ष रामप्रसाद न्यौपाने र महासचिव राजेशमणि लामिछाने, संस्थापक अध्यक्ष काशी शर्मा, पूर्व अध्यक्षहरु लीला थापा र प्रविन खराल, पूर्व उपाध्यक्ष ठाकुर ज्ञवाली, पूर्व सचिवद्धय शंकर भण्डारी र तारा लम्साल, पूर्व उपाध्यक्ष गोकर्ण हुमागाईंलगायत छन् ।

मेला व्यवस्थापन समिति संयोजक कोश्लेश्वर ढकालले बेलायतमा पहिलोपटक मौलिक शैलीमा तीज मनाउने लक्ष्यमा नौलो र बृहद कार्यक्रमको तयारी गरिएको बताए ।

‘बेलायतमै भएपनि तीज मनाउँदा नेपालमा मौलिक शैलीमै मनाएजस्तो महसुस होस् भनेर मेला आयोजना गर्ने प्रयास गरेका हौं । मौलिक नेपाली संस्कृति र कला संरक्षण गर्ने र यहाँ हुर्किंदै गरेको हाम्रो नेपाली नयाँ पुस्तालाई पनि देखाउने हाम्रो उद्धेश्य हो’, संयोजक ढकालले भने ।

आयोजक शान्ति नेपाली समाजका अध्यक्ष रामप्रसाद न्यौपानेले बेलायतभरका नेपालीललाई मेलामा आउन र मनोरञ्जन लिन आमन्त्रण गरेका छन् ।

मेलामा प्रवेश निशुल्क छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू