शुक्रबार, चैत १६, २०८०
06:43 | १२:२८

कोरोनाभाइरसबाट विश्वभर १० लाख ३३ हजारको मृत्यु

रासस-एएफपी अक्टोबर ३, २०२०


पेरिस १७ असोज– विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३३ हजार ३३० पुगेको छ ।

कोरोना सङ्क्रमणका कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ । आजसम्म प्राप्त समाचारअनुसार भारतमा ६४ लाख ७३ हजार ५४४ जनालाई कोरोना भाइरस सङ्क्रमण भएको र यस सङ्क्रमणबाट एक लाख ८७५ जनाको मृत्यु भइसकेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४८ लाख ३६ हजार २८ पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ५८ लाख ९७ हजार ९९६ निको भएका छन् भने करिब ७९ लाख ४ हजार ७०२ मानिस सक्रिय सङ्क्रमित छन् ।

विश्वभर अझै पनि ६६ हजार ३२५ मानिसको स्वास्थ्य अवस्था निकै जटिल छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७५ लाख ४९ हजार नाघिसकेको छ । कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १३ हजार ५२४ को मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ ।

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४८ लाख ८२ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४५ हजार ४३१ जनाको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा ११ लाख ९४ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २१ हजार ८९१ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

कोरोना भाइरसको प्रकोप बढ्दो रुपमा रहेको दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा केही दिन अगाडी एकै दिनमा २४ घण्टामा ३ हजार ३५२ जनाको मृत्यु भएको थियो ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू