शनिबार, वैशाख ८, २०८१
07:24 | १२:०९

प्रधानमन्त्रीका सल्लाहकारको ‘लकडाउन यात्रा’ को विरोधमा मन्त्रीको राजीनामा

नेपाली लिङ्क मे २६, २०२०

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रमुख सल्लाहकार डोमिनिक कमिङले लकडाउनकै बीचमा गरेको विवादास्पद यात्राको विषयलाई लिएर एक जना मन्त्रीले राजीनामा गरेका छन् ।

‘स्टेट अफ स्कटल्याण्ड’ का अन्डर सेक्रेटरी डग्लास रोसले विवादास्पद यात्राका बारेमा आएको स्पष्टीकरणमा चित्त नबुझाउँदै राजीनामा घोषणा गरेका हुन् ।

राजीनामा घोषणा गर्दै मन्त्री रोसले प्रधानमन्त्रीका सल्लाहकारको नियत राम्रै भएपनि लकडाउनका बीचमा उनले गरेको यात्रा सर्वसाधारणका लागि चित्तबुझ्दो नरहेको धारणा व्यक्त गरेका छन् ।

‘उहाँको नियत राम्रै थियो होला । तर लकडाउनबारे सरकारले जारी गरेको निर्देशिकालाई उहाँले जसरी व्याख्या गर्नुभयो, देशका धेरै मानिसले त्यसरी बुझेका छैनन्’, उनले भनेका छन् ।

यसअघि लकडाउनकै बेला पनि प्रधानमन्त्रीका सल्लाहकार कमिङले लण्डनबाट २ सय ६० माइलको यात्रा गर्दै आफ्ना बाबुआमा बस्दै आएको डरह्याम शहर पुगेको भनी व्यापक आलोचना भएको थियो ।

विपक्षी लेबर पार्टीसहित चौतर्फी रुपमा उनको राजीनामा माग भएपनि उनले आफ्नो यात्रा अत्यावश्यक रहेकाले लकडाउन नतोडेको जिकिर गर्दै आएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले समेत उनको यात्रा अत्यावश्यक रहेकाले लकडाउनको निर्देशिका विपरित नरहेको भनी बचाउ गरेका थिए ।

पत्नीलाई कोरोना संक्रमणको लक्षण देखिएको र आफूलाई पनि संक्रमण हुन सक्ने अवस्थामा बच्चाको लागि आवश्यक हेरचाहको व्यवस्थापन गर्न परिवार नजिक जानु आफ्नो बाध्यात्मक परिस्थिति रहेको सल्लाहकार कमिङको भनाइ रहँदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू