शुक्रबार, वैशाख ७, २०८१
11:15 | १६:००

बेलायतमा ८० प्रतिशत तलब सरकारले व्यहोर्ने स्किम अक्टोबरसम्म लम्बियो

नेपाली लिङ्क मे १२, २०२०

अर्थमन्त्री ऋषि सुनाक

लण्डन । बेलायत सरकारले कोरोना महामारीका कारण काममा जान असमर्थ कामदारहरुको ८० प्रतिशत तलब व्यहोर्ने आफ्नो राहत स्किमलाई ४ महिना लम्ब्याएको छ ।

अर्थमन्त्री ऋषि सुनाकले मंगलबार संसदमा सम्बोधन गर्दै ‘फर्लो स्किम’ लाई आउँदो अक्टोबर महिनासम्मको लागि लम्ब्याइएको घोषणा गरे ।

शुरुमा मार्च र अप्रिल महिनाको लागि घोषणा गरिएको उक्त स्किम यसअघि १ महिना बढाएर जुन महिनासम्मलाई बनाइएको थियो ।

बढाइएको अवधिमा पनि सरकारले यसअघिजस्तै कामदारहरुको ८० प्रतिशत (२५ सय पाउण्डसम्म) तलब व्यहोर्ने जानकारी मन्त्री सुनाकले गराए ।

तर अगस्टपछि रोजगारदाता कम्पनीहरुलाई पनि यो खर्चको केहि अंश शेयर गर्न आव्हान गरिने मन्त्री सुनाकको भनाइ छ ।

‘फर्लो स्किम’ अन्तर्गत अहिले सकारले बेलायतका ७५ लाख कामदारहरुको तलबको ८० प्रतिशत तलब उपलब्ध गराइरहेको उनले जानकारी दिए ।

तत्काल नखुल्ने व्यवसाय बढी लाभान्वित

चार्टर एकाउन्टेन्ट एलएन घिमिरे

लण्डनस्थित ‘चार्टर एकाउन्टेन्ट’ एलएन घिमिरे सरकारको नयाँ घोषणाले छिट्टै सञ्चालनमा आउने अवस्था नभएका व्यवसायलाई बढी राहत पुग्ने बताउँछन् ।

‘सरकारले अब क्रमिक रुपमा व्यवसायहरु खुलाउँदै जाने योजना सार्वजनिक गरिसकेको छ । आउँदो जुलाईसम्म धेरै व्यवसायहरु सञ्चालन हुने अपेक्षा छ’, घिमिरेले नेपाली लिंकसंग भने, ‘तर त्यतिञ्जेल पनि सञ्चालनमा नआउने हस्पिटालिटी र रिटेल सेक्टरका केहि व्यवसाय यो घोषणाबाट बढी लाभान्वित हुने देखिन्छ ।’

बेलायतमा धेरै नेपालीहरुले सञ्चालन गरेका रेष्टुरेन्ट, ब्युटी पार्लर जस्ता व्यवसाय पनि तत्काल खुल्ने सम्भावना नभएका कारण फर्लो स्किमको म्याद थपबाट लाभान्वित हुने घिमिरेको विश्वास छ ।

सरकारले ल्याएको फर्लो स्किमले महामारीका बेला धेरै व्यवसायलाई बन्द हुन र कामदारलाई रोजगारी गुमाउनबाट बचाएको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू