लण्डनको कोभेन्ट गार्डेनमा चार जनामाथि चक्कु प्रहार, ४७ वर्षीया महिला पक्राउ

लण्डन। लण्डनको प्रमुख पर्यटकीय तथा व्यस्त क्षेत्र कोभेन्ट गार्डेनस्थित एन्डेल स्ट्रिटमा चार जना पुरुषमाथि चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा ४७ वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
दिउँसो करिब १२:३० बजे भएको उक्त घटनालगत्तै उद्धार टोली र प्रहरी परिचालन गरिएको थियो। घाइते हुनेहरूमा ३४, ३९, ४२ र ५२ वर्षका पुरुषहरू रहेको बीबीसीले जनाएको छ।
मेट्रोपोलिटन प्रहरीका अनुसार घाइतेमध्ये दुई जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी दुई जनाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको चोटपटक ज्यानै जाने वा गम्भीर खालको नरहेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट प्रहरीले एउटा चक्कु बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार यो घटना मानिसको मानसिक स्वास्थ्य अवस्थासँग सम्बन्धित रहेको र यो एक व्यक्तिगत घटना भएको प्रहरीले बताएको छ। पक्राउ परेकी महिलामाथि घातक हतियार राखेको र आक्रमण गरेको अभियोगमा छानबिन भइरहेको छ।
मुख्य प्रहरी उपरीक्षक जेसन स्टुअर्टले घटनाको खबर पाउनासाथ केही मिनेटभित्रै प्रहरी टोली पुगेको जानकारी दिँदै सर्वसाधारणलाई त्रसित नहुन आग्रह गरेका छन्। अनुसन्धानका लागि सो क्षेत्रमा प्रहरीको उपस्थिति कायम राखिएको छ।
घटनाका प्रत्यक्षदर्शी म्याट बिशपका अनुसार ती महिलाले हतियार हल्लाउँदै तीन जना प्रहरी अधिकारीहरूसँग वादविवाद गरिरहेकी थिइन् र अनौठो भाषामा चिच्याइरहेकी थिइन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



