मंगलबार, ११ अगस्ट, २०२६
17:55 | २२:४०

मौलिक प्रस्तुति र उत्साहजनक सहभागिताबीच सम्पन्न भयो बर्मिङहम तीज मेला

नेपाली लिङ्क अगस्ट ११, २०२६

वेष्ट ब्रोमिच- बेलायतमै पहिलोपटक बर्मिङहम तीज मेला सोमबार बर्मिङहमको वेष्ट ब्रोमिचमा सम्पन्न भएको छ।

शान्ति नेपाली समाज बेलायतले एक दर्जन बढी नेपाली संघसंस्थाको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बर्मिङहम, आसपास र मिडल्यान्ड तथा लन्डनसहित बेलायतका विभिन्न क्षेत्रबाट उत्साहजनक सहभागिता रह्यो।

आधा दर्जन बढी नेपाली राष्ट्रिय कलाकारको प्रस्तुति, मौलिक तीज गीतको नाचगान, खेलकुदसहितका विविध सांस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमले पहिलोपटक आयोजना भएको मेलालाई भव्य र सफल बनाए।

आयोजक शान्ति नेपाली समाज अध्यक्ष रामप्रसाद न्यौपाने, प्रमुख अतिथि स्यान्डवेल मेट्रोपोलिटन बरो मेयर मार्गरेट सटन, विशेष अतिथि वेष्ट ब्रोमिच इष्ट सांसद सारा कुम्ज, स्थानीय वाल्सल बरो मेयर एलन फ्लेमिङ, स्थानीय काउन्सिलरहरु, कार्यक्रम संयोजक एवम् समाजका पूर्व अध्यक्ष कोशलेश्वर ढकाल, संस्थाका संरक्षक एवम् पूर्व अध्यक्षहरुलगायतले पानसमा दीप प्रज्वलन गरी मेला उद्घाटन गरेका थिए।

शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि स्यान्डवेल मेट्रोपोलिटन बरो मेयर मार्गरेट सटनले तीज मेलाका सफल आयोजनाका लागि आयोजकलाई बधाई दिइन्। उनले नेपाली समुदाय एकबद्ध भएर काम गरेको देख्दा आफूलाई खुशी लागेको बताइन्।

स्थानीय वाल्सल बरो मेयर एलन फ्लेमिङले तीज मेलामा सहभागी हुन पाउँदा प्रसन्नता व्यक्त गर्दै स्थानीय नेपाली समुदायलाई बरोका तर्फबाट सम्भव सबै सहयोगका लागि आफू तयार रहेको प्रतिवद्धता जनाए ।

सांसद सारा कुम्जले नेपाली महिलाहरुको विशेष पर्वका अवसरमा आयोजित तीज मेलालाई आफूले मित्रता, एकता र विविधताको उत्सवका रुपमा लिएको बताइन्।

स्थानीय क्षेत्रमा रेष्टुरेन्ट व्यवसायमार्फत् नेपालीहरुले पुर्याइरहेको महत्वपूर्ण आर्थिक योगदानको प्रशंसा गर्दै उनले सांसदका रुपमा नेपाली समुदायलाई साथ दिन र सहकार्य गर्न तत्पर रहेको जनाइन्।

एनआरएनए आइसिसी पूर्व सचिव दयानिधि सापकोटाले नेपाली महिलाहरुको पावन पर्वका अवसरमा उनीहरुको सम्मानस्वरुप नयाँ सोंच र शैलीमा आयोजना गरिएको तीज मेला सफलताको शुभकामना दिए।

समाजका अध्यक्ष रामप्रसाद न्यौपानेले मेला सफल पार्न योगदान गर्ने सबैप्रति संस्थाका तर्फबाट आभार प्रकट गरे। सल्लाहकार एवम् पूर्व उपाध्यक्ष जयन्ती थापाले स्वागत मन्तव्य दिइन्।

कार्यक्रमको औपचारिक सत्र सञ्चालन गर्दै महासचिव राजेशमणि लामिछानेले बेलायतमा हुने परम्परागत नेपाली कार्यक्रमको मानक र मिथक परिवर्तन गर्दै संस्थाको ‘सिग्नेचर’ कार्यक्रमका रुपमा तीज मेला गरिएको जानकारी दिए।

कार्यक्रम सफलतापूर्वक समापन भएपछि संयोजक एवम् पूर्व अध्यक्ष कोशलेश्वर ढकालले पनि सम्पूर्ण अतिथि, कलाकार, खेलाडी, सहभागी दर्शकसहित सबै प्रयोजक, दाता एवम् सहयोगीहरुप्रति आभार प्रकट गरेका छन्।

कार्यक्रममा ननिटन बरो काउन्सिलर भीम सारु, स्थानीय काउन्सिलरहरु, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङसहित मिडल्यान्ड र बेलायतका विभिन्न संघसंस्था एवम् समुदायका प्रतिनिधिको सहभागिता थियो।

कार्यक्रममा नेपालबाट आएका आधा दर्जन बढी राष्ट्रिय कलाकारले विशेष सांगीतिक प्रस्तुति गरे। चन्द्र शर्मा, विष्णु खत्री, रमेशराज भट्टराई, बबिता बानिया जेरी, जमुना राना, प्रोसेस पाण्डे जस्ता चर्चित र लोकप्रिय गायकगायिकाले सांगीतिक प्रस्तुति गरे ।

मोडल सरिष्मा मगरले आकर्षक नृत्य देखाइन् भने गायिका तथा प्रस्तोता शोभा त्रिपाठीले उद्घोषणसंगै गीतहरु पनि सुनाइन्।

सो अवसरमा बेलायतका विभिन्न क्षेत्रबाट भेला भएका महिलाहरुले मौलिक तीज गीतमा नाचगान गरेका थिए। सो अवसरमा नौमती बाजा, स्थानीय कलाकारका नृत्य, लाखेनाचसहितका अन्य विविध मौलिक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अर्को प्रमुख आकर्षण यूकेव्यापी भलिबल थियो। बेलायतभरका आठ टोली सहभागी प्रतियोगिताको उपाधि स्याङ्जा समाज यूकेले जित्यो।

विजेताले नगद १ हजार ६ सय पाउण्डसहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भयो। उपविजेता आयोजक शान्ति नेपाली समाज बेलायतले नगद १ हजार पाउण्ड, मेडल र प्रमाणपत्रलगायतको पुरस्कार पायो।

सर्वोत्कृष्ट खेलाडीको रुपमा हरि थापा र सर्वोत्कृष्ट स्पाइकरका रुपमा विशाल थापा पुरस्कृत भए। सो अवसरमा बालबालिकाहरुबीच फुटबल प्रतिस्पर्धा गराइयो। बाउन्सी क्यासल र आइसक्रिम भ्यानले पनि साना बालबालिकालाई रमाउने अवसर दिलाए।

मेलास्थलमा राखिएका नेपाली खानाका साथै मौलिक नेपाली गरगहना, पोशाक, सामग्रीदेखि विभिन्न व्यापार र सेवाका डेढ दर्जन स्टलहरुले दर्शकलाई आकर्षित गरेका थिए ।

कार्यक्रममा मिडयान्डका सबै क्षेत्रहरुका साथै लन्डनसहित बेलायतका विभिन्न क्षेत्रबाट सहभागीहरु आएका थिए।

     

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू