बुधबार, वैशाख १२, २०८१
19:51 | ००:३६

एनआरएनए यूकेद्वारा ३० विद्यार्थीलाई राहत र ४ सयलाई स्वास्थ्य सामग्री

नेपाली लिङ्क अप्रिल २६, २०२०

लण्डन । कोरोना भाइरसको महामारीका कारण विभिन्न समस्यामा परेका बेलायतस्थित नेपालीहरुलाई एनआरएनए यूकेले राहत तथा सहयोग वितरण शुरु गरेको छ ।

सहयोगको पहिलो चरणमा बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई राहत तथा करिब ४ सय जना भूपू गोर्खा एवम् वृद्धवृद्धाहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिएको एनआरएनए यूकेले जनाएको छ ।

त्यसैगरी, बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने तीन जना नेपालीको परिवारलाई कुल १८ सय पाउण्डको आर्थिक सहयोग पनि गरिएको छ ।

विद्यार्थीहरुको राहत वितरणको संयोजन गरिरहेकी उपाध्यक्ष रोजिना प्रधान राईका अनुसार सहयोगको आवश्यकतामा रहेका विद्यार्थीहरुको लागि कमसेकम तीन साताको लागि पुग्ने चामल, दाल, तेल लगायतको खाद्यान्न वितरण गरिएको छ ।

एनआरएनए यूकेले बर्मिङहम, वुल्भरह्याम्पटन, लिभरपुल, योर्कशायर, लांकास्टर, वेल्सको कार्डिफ लगायतका ठाउँमा रहेका विद्यार्थीहरुलाई राहत बाँडेको हो । उनीहरुको लागि अत्यावश्यक खाद्यान्न ‘डेलिभरी’ सेवामार्फत घरमै पुर्याइएको उपाध्यक्ष राईले बताइन् ।

विद्यार्थीहरुको लागि कमसेकम तीन साताको लागि पुग्ने चामल, दाल, तेल लगायतको खाद्यान्न वितरण गरिएको छ ।

त्यस्तै, एनआरएनए यूकेले बेलायतभरमा करिब ४ सय भूपू गोर्खा एवम् वृद्धवृद्धाहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको बताएको छ । अल्डरसट, फार्नबरो, रेडिङ, बेजिङस्टोक, प्लमस्टिड लगायतका क्षेत्रमा ‘मास्क’, पञ्जा, प्यारासिटामोल, ‘स्यानिटाईजर’ लगायतका सामग्री बाँडिएको हो ।

एनआरएनए यूकेले सञ्चालन गरेको हेल्पलाइनमार्फत सहयोगको लागि अनुरोध आएबमोजिम राहत र स्वास्थ्यसामग्री वितरण गरिएको महासचिव फडिन्द्र भट्टराईले बताए ।

अहिलेसम्म संस्थाको सम्पर्कमा आएका १ सय ६० जना विद्यार्थीमध्ये आवश्यकताको आधारमा थप विद्यार्थीलाई समेत राहत बाँड्दै जाने योजना उनले सुनाए ।

त्यस्तै, मिडल्याण्डसहित स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डका नेपालीहरुसम्म पनि अत्यावश्यक स्वास्थ्य सामग्री पुर्याउने तयारी भइरहेको महासचिव भट्टराईले जानकारी दिए ।

एनआरएनए यूकेले सञ्चालन गरेको हेल्पलाइनमा विभिन्न सहयोग र परामर्शको खोजी गर्दै अहिलेसम्म विद्यार्थी, भूपू गोर्खासहित ३ सय १० जनाले सम्पर्क गरेको हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले बताएका छन् ।

करिब ४ सय जना भूपू गोर्खा एवम् वृद्धवृद्धाहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिएको एनआरएनए यूकेले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू