शुक्रबार, वैशाख १४, २०८१
23:13 | ०३:५८

उत्तर कोरियाली नेता किमसंग ट्रम्पको ‘कनेक्सन’

रासस/एएनआइ अप्रिल २४, २०२०

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उन गम्भीररूपमा अस्वस्थ भएको विवरणहरु ‘सही नभएको’ बताउनुभएको छ ।

स्थानीय समय अनुसार बिहीबार उहाँले उन गम्भीर विरामी भएको समाचार असत्य भएको दावी गर्नुभएको हो ।

‘उहाँ विरामी भएको सूचना विभिन्न माध्यमबाट मैले पाएँ, मलाई लाग्छ उहाँ विरामी भएका विवरण अरु असत्य हुन्’, कोभिड–१९ बारे नियमित सञ्चारकर्मीसँगको एक कुराकानीका सन्दर्भमा सोधिएको प्रश्नमा ट्रम्पले भन्नुभयो- ‘मलाई लाग्छ किमको स्वास्थ्य अवस्थाबारेको रिपोर्ट सही छैन । मैले सुने अनुसार समाचार सार्वजनिक गर्ने ‘नेटवर्क’ले पूरानो कागजातलाई सूचनाको आधार बनाएको छ ।’

उक्त अवसरमा राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र त्यसका सर्वोच्च नेता किम जोन–उनसँग आफ्नो एकदमै राम्रो सम्वन्ध रहेको स्मरण पनि गर्नुभयो ।

नेता किम स्वस्थ अवस्थामै रहेको उहाँले आशा व्यक्त गर्नुभयो । उहाँले यसअघि गत मङ्गलबार उन गम्भीर अस्वस्थ भएको सूचना आएको भन्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।

‘उहाँ सिकिस्त विरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु हामीलाई केही थाहा छैन, मैले केबल उहाँको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्न सक्दछु’, ट्रम्पले भन्नुभयो ।

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त विरामी भएको विवरण दिएपछि उहाँले यस्तो बताउनुभएको थियो ।

नेता किम यही अप्रिल १५ तारिखका दिन आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित भएको समाचारहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दिएका छन् । त्योभन्दा चार दिन अगाडि एउटा सरकारी बैठकमा भने किम देखिएको गुप्तचर निकायहरुको सूचनालाई उद्धृत गर्दै सिएनएनले जनाएको थियो ।

तर, उत्तर कोरियाली सरकारी अधिकारीहरुले भने किम विरामी भएको पुष्टि गरेका छैनन् । उनीहरुले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दावी गरेका छन् ।

योन्ह्याप समाचार संस्थाले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै जनाए अनुसार उनीहरुले कुनै फरक नरहेको बताएका छन् ।

उत्तर कोरियाली राजनीतिक प्रणालीका कारण पर्याप्त र यथार्थ सूचना सहजै सार्वजनिक हुन नसक्ने भएकाले वेला वेलामा सूचताप्रतिको अन्यौलता सिर्जना हुने गर्दछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू