बिहीबार, चैत १५, २०८०
09:41 | १५:२६

कोरोना संक्रमणबाट बेलायतमा ४९ वर्षीय गुरुङको निधन

नेपाली लिङ्क अप्रिल २१, २०२०

मृतक ४९ वर्षीय विजय गुरुङ (तस्विर स्रोत- सामाजिक सञ्जाल)

लण्डन । बेलायतको रेडिङ शहरमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।

रेडिङको ‘रोयल बर्कशायर अस्पताल’मा उपचारकै क्रममा गत आइतबार साँझ उनको निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले नेपाली लिंकलाई जानकारी गराए ।

विगत केहि महिनादेखि ढाडको समस्या झेलिरहेका गुरुङको गत डिसेम्बर १० तारिखमा काठमाडौंको ‘ग्राण्डी अस्पताल’ मा अप्रेसन भएको थियो । झण्डै २ महिना आरामपछि फेब्रुअरी पहिलो साता उनी बेलायत फर्किएका थिए ।

ढाडकै समस्याका लागि नियमित औषधि सेवन गर्दै आएका गुरुङलाई श्वाप्रश्वासमा अफ्ठेरो भएपछि अप्रिल १३ तारिख आइतबार अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा केहि दिन उनलाई ‘भेन्टिलेटर’मा समेत राखिएको थियो ।

गुरुङको निधन भएको दुई दिनपछि अस्पतालले परिवारलाई उपलब्ध गराएको ‘रिपोर्ट’मा उनलाई निमोनिया र कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरिएको रेडिङ तमु समाजका अध्यक्ष गुरुङले जानकारी दिए ।

कास्की, यान्जाकोट पुर्ख्यौली भएका मृतक गुरुङको पछिल्लो समय पोखराको सैनिक बस्तीमा समेत घर थियो । हंगकंग हुँदै बेलायत आएका उनी लामो समयदेखि परिवारसहित बेलायतमा बस्दै आएका थिए । उनको परिवारमा श्रीमति र एकमात्र छोरा छन् ।

केहि महिनाअघि ढाडको समस्या देखिनुअघि स्वास्थ्य अवस्था सामान्य रहेका उनी नियमित रुपमा जागिरमै थिए ।

रेडिङ तमु समाजका कार्यसमिति सदस्य समेत रहेका गुरुङको निधनप्रति समाजका तर्फबाट अध्यक्ष नन्द गुरुङले दुख व्यक्त गरेका छन् ।

यसअघि बेलायतमा डेढ दर्जन बढि नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू