परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता



दिल्ली- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच मंगलबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।
भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री डा. राणा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटका क्रममा उनीहरुबीच नेपाल भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशका साझा चासो र आपसी हितकासाथै पारस्पारिक लाभका विभिन्न विषयमा छलफल भएको छ।
भेटका क्रममा मन्त्री डा. राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताएकी छन्।
नेपाल र भारतबीच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशबीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिबारे पनि उनीहरुबीच छलफल भएको थियो।