आइतबार, १५ फ्रेब्रवरी, २०२६
00:53 | ०६:३८

‘नेपाल ब्रिटेन डटकम’ लाई एकपक्षीय समाचार नलेख्न प्रेस काउन्सिलको पुनः चेतावनी

नेपाली लिङ्क जनवरी ४, २०२५

लन्डन । प्रेस काउन्सिल नेपालले नेपालमा दर्ता गरि लन्डनबाट सञ्चालन भइरहेको एक ‘विवादित’ अनलाइन नेपाल ब्रिटेन डट कमलाई जथाभावी नलेख्न पुनः सचेत गराएको छ ।

एक गुटको पक्षपोषण गर्दै नेपाल पत्रकार महासंघ यूकेविरुद्ध भ्रामक समाचार प्रकाशित गरेपछि परेको उजुरीमा काउन्सिलले आगामी दिनमा तथ्यगत पुष्ट्याईं बेगर सन्तुलनरहित र एकपक्षीय सामग्री सम्प्रेषण नगर्न, नगराउन उक्त अनलाइनलाई निर्देशन दिएको हो ।

नेपाल पत्रकार महासंघ यूकेविरुद्ध भ्रामक समाचार सम्प्रेषण गरेपछि काउन्सिलले ‘नेपाल ब्रिटेन डटकम’ लाई आचारसंहिता पालना गर्न र सम्प्रेषित समाचारको खन्डन सम्प्रेषण गरि जानकारी गराउन २०८१-०६-०९ मा पहिलोपटक निर्देशन दिएको थियो ।

काउन्सिलको निर्देशनसमेत अवज्ञा गर्दै उक्त अनलाइनले खण्डन प्रकाशित गर्ने नाममा झन् कुप्रचार गरेको थियो । त्यसपछि पत्रकार महासंघ बेलायत अध्यक्ष विमला सेनेले काउन्सिलमा पुनः उजुरी दिएकी थिइन् । त्यस उजुरीउपर अनुगमन गर्दै काउन्सिलको २७ मंसिरको बैठकले आगामी दिनमा तथ्यगत पुष्ट्याईं बेगर सन्तुलनरहित र एकपक्षीय सामग्री सम्प्रेषण नगर्न, नगराउन सचेत गराउने निर्णय गरेको हो ।

काउन्सिलले पुष ३ मा नेपाल ब्रिटेन डटकमका सम्पादक देवराज आचार्य ‘चिरन शर्मा’ को नाममा दोश्रो पत्र पठाउँदै नेपाल पत्रकार महासंघ र त्यसका कार्यक्रमप्रति भ्रम सृजना नगर्न सचेत गराएको छ ।

काउन्सिलले यसअघि नेपाल ब्रिटेन डट कमलाई ‘पत्रकार तथा संचार माध्यमले सत्य तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने, कसैमाथि भेद्भाव हुने वा घृणा उत्पन्न हुने किसिमबाट समाचार सम्प्रेषण गर्न नहुने, कसैलाई अनुचित लाभ वा हानी पुर्याउने नियत राखी सामग्री सम्प्रेषण गर्न नहुने, सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनुपर्ने, समाचारबाट असर पर्ने व्यक्ति, समुदाय वा संस्थाले पठाएको खण्डन वा प्रतिक्रियालाई स्थान दिनु कर्तव्य हुने’ जस्ता पत्रकार आचारसंहिताबारे सचेत गराइसकेको छ ।

पत्रकार महासंघ यूकेको नयाँ कार्यसमितिविरुद्ध भ्रम फैलाउने र केही सदस्यलाई उक्साएर आफ्नै पोर्टलमार्फत शाखाविरुद्ध गतिविधि गरेपछि गत २४ सेप्टेम्बर २०२४ मा बसेको शाखाको कार्यसमिति बैठकले शर्मासँग स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर, उनले समयसीमाभित्र स्पष्टिकरण नदिएपछि शाखाले छिट्टै कारवाहीका लागि सिफारिस प्रक्रिया अगाडि बढाउने तयारी गरेको अध्यक्ष सेनेले जनाइन् ।

शर्माले शाखा तथा पदाधिकारीविरुद्ध भ्रम फैलाउने अभिप्रायले सामाजिक सञ्जालमा समेत अन्य व्यक्तिलाई प्रयोग गर्दै आएको आरोप छ ।

यसैबीच, शाखाले नेपाल ब्रिटेनकै कपी पेष्ट गरेर भ्रामक समाचार प्रकाशित गर्ने अन्य अनलाइनविरुद्ध समेत काउन्सिलमा उजुरी गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू