इरो सुशी बोर्ड सल्लाहकारमा नियुक्त भए वागामामा पूर्व सिइओ थोमस हायर


इरो सुशी बोर्ड सल्लाहकारमा नियुक्त थोमस हायर (बाँया) र संस्थापक छोङ शेर्पा
लन्डन- नेपाली युवा व्यवसायी छोङ शेर्पाको फ्रेन्चाइज सुसी रेष्टुरेन्ट ‘इरो सुसी’ ले वागामामाका पूर्व प्रमुख कार्यकारी अधिकृत थोमस हायरलाई आफ्नो ब्रान्डमा ‘नन एक्जुकेटिभ बोर्ड सल्लाहकार’ का रुपमा भित्रयाएको छ ।
बेलायतभर ४० बढी आउटलेट विस्तार गरिसकेको इरो सुसीले यूकेमात्र होइन्, अन्तर्राष्ट्रिय विस्तारका अवसर समेत खोजिरहंदा अनुभवी व्यक्तिलाई गहन जिम्मेवारीसहित नियुक्त गरेको हो ।
उक्त ब्राण्डको सल्लाहकार भूमिकामा हायरले शेर्पा र समग्र नेतृत्व टोलीसँग मिलेर काम गर्नेछन् । उनले व्यवसायिक वृद्धि, ब्रान्ड, जनशक्ति तथा संगठनात्मक विकास, सञ्चालन विधि जस्ता विषयमा आफ्नो अनुभव, दृष्टिकोण र सहयोग प्रदान गर्ने जनाइएको छ ।
हायरसँग उपभोक्ता–केन्द्रित रेस्टुरेन्ट व्यवसायलाई विस्तार गरेको अनुभव छ । वागामामामा प्रमुख कार्यकारी अधिकृत बन्नुअघि उनले जनशक्ति व्यवस्थापन, ग्राहक अनुभव, मार्केटिङ र अन्तर्राष्ट्रिय विकासजस्ता क्षेत्रमा उच्च पदहरू सम्हालेका थिए।
यस क्रममा उनले कम्पनीद्वारा सञ्चालित व्यवसाय र यसका अन्तर्राष्ट्रिय फ्रेन्चाइज सञ्चालनहरूको समेत रेखदेख गरेका थिए ।
इरो सुसीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत छोङ शेर्पाले थोमससँग बेलायतको सबैभन्दा परिचित रेस्टुरेन्ट ब्रान्डहरूमध्ये एकको नेतृत्व गरेको बहुमूल्य अनुभव रहेको जनाउंदै उनी आफ्नो ब्राण्डमा जोडिएकामा अत्यन्त खुसी भएको बताए ।
‘हामीले विगत वर्षहरूमा धेरै उपलब्धि हासिल गरेका छौं, तर आगामी दिनका लागि पनि हामी उत्तिकै महत्त्वाकांक्षी छौं’, शेर्पाले भने, ‘हामी बेलायत र अन्तर्राष्ट्रिय स्तरमा इरो सुसीलाई विस्तार गर्ने ठूलो सम्भावना साकार पार्न आवश्यक बलियो आधार तयार पार्नु हाम्रो प्राथमिकता हो।’
आफ्नो ब्रान्ड र ग्राहकहरूलाई प्रदान गरिने सेवा निरन्तर प्रदान गर्नुका साथै ठूलो व्यवसाय सञ्चालन गर्न आवश्यक जनशक्ति, प्रणाली र क्षमताहरू सुदृढ पार्ने कम्पनीको प्राथमिकतामा थोमसले उल्लेख्य भूमिका निर्वाह गर्ने अपेक्षा शेर्पाको छ ।
हायरले आफू छोङ र उनको टोलीसँग मिलेर काम गर्न उत्सुक रहेको बताउंदै इरो सुसी ब्रान्ड विस्तार गर्न आफ्नो अनुभव र बाह्य दृष्टिकोणका साथ योगदान पुर्याउने जनाए ।
इरो सुसीले गुणस्तरीय सुसी र जापानी शैलीका परिकारहरूका लागि प्रतिष्ठा कमाएको छ। सन् २०१४ मा छोङ शेर्पाद्वारा स्थापित यो ब्रान्डको एउटा विशिष्ट पक्ष यसको ‘संयुक्त लगानीको फ्रेन्चाइज मोडेल’ हो। यस मोडेलमार्फत शेर्पाले धेरै सेफ र उद्यमी बन्न चाहने व्यक्तिहरूलाई आफैं व्यवसायका मालिक बन्न मद्दत गरेका छन्।
यही उद्यमशील भावना इरो सुसी ब्रान्ड विस्तारको एक महत्त्वपूर्ण पाटो बनेको कम्पनीले जनाएको छ ।
इरो सुसीले सन् २०३० सम्म विश्वभर आफ्ना १०० वटा शाखा विस्तार गर्ने लक्ष्य राखेको छ, जसमा बेलायत, युरोप र मध्यपूर्व प्राथमिकतामा छन्। व्यवसाय विस्तार हुँदै जाँदा कम्पनीले आफ्नो ब्रान्ड, परिकारहरू र ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउनुका साथै ठूलो सञ्जाल धान्न आवश्यक पर्ने नेतृत्व क्षमता, प्रणाली र संगठनात्मक आधारहरू सुदृढ पार्न ध्यान केन्द्रित गरिरहेको छ।
सन् २०१९ मा फ्रेन्चाइज व्यवसाय सुरु गरेपछि इरो सुसी तीव्र रूपमा विस्तार भएको छ। सन् २०२३ अगस्टदेखि कम्पनीले २० भन्दा बढी नयाँ शाखा खोलेको छ।
सन् २०२६ तथा त्यसपछिका वर्षमा थप शाखा खोल्ने प्रतिबद्धतासहित नयाँ विस्तार योजनाहरू पनि अघि बढिरहेका छन्। यसले कम्पनीको व्यावसायिक सफलता थप बलियो बनाएको छ। अप्रिल २०२५ अन्त्यसम्मको एक वर्षमा कम्पनीको कुल बिक्री करिब १६ मिलियन पाउण्ड पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ५६ प्रतिशतले वृद्धि हो।
९० बढी परिकार समावेश भएको मुख्य मेनुका अतिरिक्त कम्पनीले नयाँ परिकार तथा स्वादहरू आफैँ विकास गर्दै आएको छ। हरेक वर्ष १०० भन्दा बढी मेनु सृजनाले ग्राहकलाई पुनः आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको कम्पनीको विश्वास छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



