बेलायतमा झण्डै ६० वर्षपछि विश्वकप


लन्डन- बेलायतमा पुरुष विश्वकप आयोजना भएको झण्डै ६० वर्षपछि अब महिला विश्वकप फुटबल आयोजना हुने भएको छ।
सन् २०३५ को फिफा महिला विश्वकप इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्।
विश्व फुटबलकै सबैभन्दा ठूलो प्रतियोगितामध्ये एक विश्वकप आयोजना गर्ने अवसर बेलायतका लागि खेलकुद मात्र नभई आर्थिक र पर्यटन क्षेत्रका दृष्टिले पनि ठूलो उपलब्धि मानिएको छ।
सन् १९६६ मा पुरुष विश्वकप आयोजना गरेको बेलायतले त्यसको ६९ वर्षपछि फेरि विश्वकप फुटबल आयोजना गर्नेछ।
सन् २०३५ को प्रतियोगितामा विश्वका ४८ देश सहभागी हुनेछन्। ३९ दिनसम्म चल्ने प्रतियोगितामा कुल १०४ खेल हुनेछन्।
आयोजकको अनुमानअनुसार प्रतियोगिताका लागि ४५ लाख टिकट बिक्री हुन सक्नेछन्। विश्वभर टेलिभिजन तथा अन्य माध्यमबाट करिब ३ अर्ब ५० करोड दर्शकसम्म प्रतियोगिताको पहुँच पुग्ने अपेक्षा गरिएको छ। यो प्रतियोगिताको आकार कति ठूलो हुनेछ भन्ने कुरा यसैबाट पनि अनुमान गर्न सकिन्छ।
प्रस्तावमा १६ आयोजक शहरमा २२ रंगशाला हुनेछन् जसमध्ये १६ वटा इङ्गल्याण्डमा, तीनवटा वेल्समा, दुईवटा स्कटल्याण्डमा र एउटा उत्तरी आयरल्याण्डमा छन्।
लन्डनको चर्चित वेम्बली रंगशालासँगै आर्सनलको एमिरेट्स, टोटनह्याम हटस्पर, म्यानचेस्टरको ओल्ड ट्राफोर्ड, म्यानचेस्टर सिटीको इतिहाद र न्यूक्यासलको सेन्ट जेम्स पार्कजस्ता चर्चित मैदानमा खेल सञ्चालन गर्ने प्रस्ताव छ। प्रतियोगिता सन् २०३५ को गर्मीयाममा आयोजना हुने निश्चित भएपनि अन्तिम सहर, रंगशाला तथा प्रशिक्षण स्थलहरूको टुङ्गो फिफाले उपयुक्त समयमा गर्ने जनाइएको छ ।
यस प्रतियोगिताले बेलायतको अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ। प्रारम्भिक अध्ययनअनुसार प्रतियोगिताबाट करिब २ अर्ब २० करोड पाउन्ड बराबरको आर्थिक प्रभाव पर्न सक्ने अनुमान छ।
विश्वका विभिन्न देशबाट लाखौँ फुटबल समर्थक बेलायत आउने अपेक्षा गरिएको छ। जसले होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात, पर्यटन, स्थानीय व्यवसाय र रोजगारीका क्षेत्रमा समेत अवसर सिर्जना गर्नेछ।
सन् २०२३ को महिला विश्वकपमा फाइनलसम्म पुगेको इंग्ल्यान्डको महिला टोलीले आफ्नै घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य राख्नेछ। उक्त फाइनलमा इंग्ल्यान्ड स्पेनसँग १–० गोलले पराजित भएको थियो।
बेलायतका चार देशले संयुक्त रूपमा आयोजना गर्ने यो प्रतियोगिता महिला फुटबलको इतिहासमै एउटा महत्त्वपूर्ण अध्याय बन्ने अपेक्षा गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



