बेलायतको सांगीतिक यात्रा सकेर गायक बद्री पंगेनी स्वदेश फर्किए

लन्डन । लोक तथा दोहोरी गायक बद्री पंगेनी बेलायतका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिएर स्वदेश फर्किएका छन् । अल्डरसटस्थित ठमेल दोहोरीमा आयोजित बिदाइ तथा सांगीतिक कार्यक्रमसँगै उनको तीन साता लामो बेलायत भ्रमण टुङ्गिएको हो । सोमबार साँझ उनलाई बिदाइ गर्न स्थानीय गायिका सुजाता काफ्लेलगायतको टोली लन्डनस्थित हिथ्रो विमानस्थल पुगेको थियो ।
बेलायत भ्रमणका क्रममा पंगेनीले वुल्भरह्याम्प्टन र कोभेन्ट्रीमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएका थिए । त्यसपछि उनले फोक्स्टन, साउथ ह्यारो र आशफोर्डमा सांगीतिक प्रस्तुति दिए । साउथ ह्यारोस्थित नेवा छे मायामा आयोजित ‘लोकदोहोरी साँझ २०२६’ मा उनले स्थानीय कलाकारसँग प्रत्यक्ष दोहोरी गाएका थिए । उनले स्कटल्यान्डको डनफर्मलिन र एबरडिनमा पनि प्रस्तुति दिएका थिए । आफ्ना नयाँ तथा पुराना गीतमार्फत उनले बेलायतवासी नेपाली दर्शक तथा श्रोतालाई मनोरञ्जन दिलाएका थिए ।
पंगेनीले यसपटकको बेलायत भ्रमण सफल र रमाइलो भएको बताए । केही महिनाअघि पनि उनी सांगीतिक कार्यक्रमका लागि बेलायत आएका थिए । त्यतिबेला नेपालको भोटेकोशीमा आएको बाढीले उनको बेलायत बसाइ खल्लो बनाए पनि बाढीपीडितको सहयोगार्थ सांगीतिक कार्यक्रम गर्न पाउँदा खुसी लागेको उनले स्मरण गरे । यसपटकको भ्रमणमा साथ र सहयोग गर्ने सम्पूर्ण बेलायतवासी नेपाली, दर्शक तथा श्रोतालाई धन्यवाद दिँदै उनले नेपाली गीतसङ्गीतलाई निरन्तर माया गर्न आग्रह गरे ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष तथा संरक्षक पंगेनी पाल्पाको रामपुरमा जन्मिएका हुन् । उनले २०५५ सालमा ‘तानसेन खस्यौली’ गीतबाट औपचारिक गायन यात्रा सुरु गरेका थिए । दुई दशकभन्दा लामो सांगीतिक यात्रा तय गरिसकेका पंगेनीलाई ‘सुसुरालीमा’ एल्बमको ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ गीतले व्यापक रूपमा चिनाएको थियो ।
उनका ‘पीएन क्याम्पस’, ‘ब्युटी नम्बर वान’, ‘फोटो फिर्ता लेऊ’, ‘अहिले नै गणतन्त्र आएको छैन’ र ‘लाऊ चेली सिन्दूर लाऊ’ लगायतका गीत लोकप्रिय छन् । पछिल्लो समय ज्योति मगरसँग गाएको ‘झ्याप्पै’ बोलको गीतले पनि निकै चर्चा पाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



