बुधबार, २५ नोभेम्बर, २०२६
20:26 | ०२:११

पौडीमा एनआरएन लिली बोहराले बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

रासस नोभेम्बर २५, २०२६

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा चार नयाँ कीर्तिमान बनेका छन् ।

बाँकेको नेपालगञ्जस्थित पौडी पोखरीमा जारी प्रतियोगितामा पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्ट स्ट्रोकमा वाग्मतीका अभिव प्रधान र महिला ८०० मिटर फ्रि स्टायलमा एनआरएनए लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

सिंहले स्वर्ण पदक जित्ने क्रममा आफ्नो कीर्तिमानलाई भंग गर्दै ४ मिनेट ५६ दशमलव ७६ सेकेण्डको नयाँ कीर्तिमान कायम गरे । यसअघि सन् २०२५ मा ४ मिनेट ५८ दशमलव ३४ सेकेण्डको उनको कीर्तिमान बनेको थियो । अर्थवले स्वर्ण जित्दा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले रजत ५ मिनेट ०७ दशमलव ५७ सेकेण्ड र बागमतीका अरिक कर्माचार्यले कास्य पदक ९५ मिनेट २६ दशमलव ९९ सेकेण्डमा जिते ।

महिलातर्फको ८०० मिटर फ्रि स्टायलमा लिली बोहराले स्वर्ण पदक जित्ने क्रममा ९ मिनेट ३४ दशमलव ०६ सेकेन्डको नयाँ कीर्तिमान बनाइन् । यसअघि सन् २०२५ को उक्त इभेन्टमा नेपाल आर्मी क्लबकी डुअना लामाको १० मिनेट ०६ दशमलव ९२ सेकेण्डको कीर्तिमान बनेको थियो । लिलीले स्वर्ण जित्दा डुअनाले आफ्नै पुरानो रेकर्ड सुधार गर्दै ९ मिनेट ५९ दशमलव ५४ सेकेण्डमा पूरा गर्दै रजत र पुलिसका देभान्सी जोशीले १० मिनेट ५८ दशमलव ५८ सेकेण्डसहित कास्य पदक हासिल गरिन् ।

वाग्मती प्रदेशका अभिव प्रधानले १०० मिटर फ्रि स्टायलमा १ मिनेट ०१ दशमलव ५१ सेकेण्डको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक जिते । यसअघि सन् २०२५ मा प्रारम्भ भण्डारीले १ मिनेट ०३ दशमलव ३९ सेकेण्डको कीर्तिमान बनाए । प्रधानले स्वर्ण जित्दा वाग्मतीका रिभान्तबहादुर श्रेष्ठले १ मिनेट ४ सेकेन्डसहित रजत र आर्मीका जादेन श्रेष्ठले १ मिनेट ०४ दशमलव ०३ सेकेण्डसहित कास्य पदक हासिल गरे ।

नेपाल पुलिस क्लबको टोलीले पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायलमा ८ मिनेट ३२ दशमलव १३ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । यसअघि सन् २०१६ मा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङको नाममा रहेको ९ मिनेट १७ दशमलव ६८ सेकेण्डको कीर्तिमानलाई पुलिस क्लबका इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठले भंग गर्दै ८ मिनेट ३२ दशमलव १३ सेकेण्डको नयाँ कीर्तिमान बनाए ।

प्रतियोगितामा महिला ५० मिटर बटरफ्लाईमा एनआरएनएका मिखा काया थापाले स्वर्ण पदक ३० दशमलव ७८ सेकेण्ड नेपाल प्रहरीकी देभान्सी जोशीले रजत ३२ दशमलव ८८ सेकेण्ड र वाग्मतीकी इरा अमात्य र आर्मीकी शिसोम्बुन राईले ३३ दशमलव ५६ सेकेण्डमा पूरा गर्दै संयुक्त रूपमा कास्य पदक प्राप्त गरे ।

५० मिटर पुरुष ‘बटरफ्लाई’ मा बागमतीका अभिव प्रधानले स्वर्ण २६ दशमलव ०७ सेकेण्ड, पुलिसका इर्भिन श्रेष्ठले रजत २७ दशमलव १४ सेकेण्ड, आर्मीका खेलाडीद्वय सौरेनबहादुर सिंह र असिम भण्डारीले २७ दशमलव ३२ सेकेण्ड समय खर्चेर कास्य पदक हासिल गरे।

२०० मिटर महिला फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले स्वर्ण २ मिनेट १४ दशमलव ०३ सेकेण्ड, आर्मीकी डुअना लामाले रजत २ मिनेट १४ दशमलव ४२ सेकेण्ड र एनआरएनएकी मिखा ताया थापाले कास्य २ मिनेट १९ दशमलव ६८ सेकेन्ड पदक हात पारे । २०० मिटर पुरुष फ्रि स्टायलमा पुलिसका इर्भिन श्रेष्ठले १ मिनेट ५९ दशमलव ४८ सेकेण्ड स्वर्ण, पुलिसकै काल्किन श्रेष्ठले रजत २ मिनेट ०० दशमलव ८३ सेकेण्ड र आर्मीका अल्भिन महर्जनले कास्य २ मिनेट ०५ दशमलव ०० सेकेन्डमा पदक हात पारे ।

१०० मिटर महिला ब्याकस्ट्रोकमा बागमतीका आर्या महर्जनले स्वर्ण १ मिनेट ११ दशमलव ९५ सेकेण्ड, एनआरएनएका मिखा काया थापाले रजत १ मिनेट १३ दशमलव ६२ सेकेण्ड र बागमतीका रोयल प्रजापतिले कास्य १ मिनेट १४ दशमलव ४३ सेकेण्ड पदक हासिल गरे । पदकसहित शीर्ष स्थानमा छ भने एनआरएनए ६ स्वर्ण, १ रजत र २ कास्य गरी कुल ९ पदकसहित दोस्रो र प्रहरी ३ स्वर्ण, ७ रजत, ८ कास्य गरी कुल १८ पदकसहित तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको आर्मीले २ स्वर्ण, ८ रजत, ८ कास्य पदक प्राप्त गरेको छ भने पाँचौँ स्थानमा रहेको सुदूरपश्चिमले १ स्वर्ण, २ रजत गरी कूल ३ पदक र कोसी प्रदेश १ स्वर्णसहित तालिकाको छैटौँ स्थानमा रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको दोस्रो दिनसम्मका ६ इभेन्टमा राष्ट्रिय कीर्तिमान बनेको छ । प्रतियोगिताको पहिलो दिन पुरुषतर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै रेकर्डमा सुधार गर्दै ३० दशमलव ६४ सेकेण्डको नयाँ कीर्तिमान कायम गरे ।

महिलातर्फको ४०० मिटरमा एनआरएन लिली बोहराले ५ मिनेट १७ दशमलव ०१ सेकेण्डको नयाँ कीर्तिमान बनाइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू