बुधबार, वैशाख २६, २०८१
02:18 | ०७:०३

कोरोना भाइरसबाट विश्वभर १ सय ३८ नेपालीको मृत्यु

नेपाली लिङ्क जुन ७, २०२०

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा कमी आएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन् । संक्रमण दर गतसाता भन्दा ७५ प्रतिशतले कमी हो ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् । संघको पछिल्लो तथ्यांक अनुसार विभिन्न विदेशमा १ सय २५ जना गैरआवासीय नेपालीहरुको कोरोनाका कारणले निधन भएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । समितिका अनुसार नेपालमा कोरोना संक्रमणको संख्या ३ हजार २ सय ३३ छ भने १३ जनाको कोरोनाबाटै मृत्यु भएको छ ।

नेपाल फिर्ती व्यवहारिक बनाउन एनआरएनएको आग्रह

सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको सुरुआतको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु भएकोमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागतयोग्य बताएका छन् ।

लकडाउन भएको ७४ दिन पछि सरकारले पहिलोपटक बर्मा २६ र युएईबाट १६८ जना नेपाली फर्काएको छ ।  विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीहरुको फिर्ति प्रक्रिया व्यवहारिक बनाउन संघले नेपाल सरकालाई आग्रह गर्ने भएको छ ।

अध्यक्ष पन्तले नेपालीको फिर्तीको लागि भोगेका समस्याबारे तत्काल परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली र कोभिड १९ उच्चस्तरिय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने जानकारी दिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले विदेशमै पीसीआर टेष्टको सम्भवना न्यून रहेकाले भारत सरकारले जस्तै सामान्य स्वास्थ्य सर्टिफिकटले नेपाल जान पाउने गरि बाटो खोल्नुपर्ने बताए ।

महासचिव शर्माले विदेशस्थित नेपाली दूतावासमा समेत होल्डिंग (क्याम्प) सेन्टरको आवश्यकता रहेको औँल्याउंदै विदेश रहेका नेपालीहरुलाई विमानस्थलसम्म पुर्याउन दूतावास र संघको सहकार्यमा होल्डिंग सेन्टर बनाउन सकिने बताए ।

संघले विदेशमा रहेका शव नेपाल फर्काउन र आफैँ पैसा तिरेर जान नसक्ने नेपालीहरुको लागि आवश्यक सहयोगको नेपाल सरकारलाई आग्रह गर्ने बताइएको छ ।

संघले विश्वका विभिन्न मुलुकमा छरिएका नेपाली दूतावाससँग सहकार्य गर्न संघ र दूतावासबीच संयन्त्र बनाएर अगाडि बढ्न सकिने धारणा राख्दै आएको छ । यसअघि संघले नेपालीहरुको फिर्तिको लागि सहयोग गर्न आफ्ना सबै शाखालाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू