कूटनीतिक वार्ता अघि गेसो भेटघाट व्यस्त, सत्याग्रहको नामप्रति आपत्ति


परराष्ट्रमन्त्री डा. नारायण खड्काकासाथ गेसो प्रतिनिधि
लन्डन । बेलायत र नेपाल सरकार तथा भूतपूर्व गोर्खा प्रतिनिधिबीच हुने कूटनीतिक वार्तामा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले सार्वजनिक गरेको नामप्रति गेसोले आपत्ति जनाएको छ ।
भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) सभापति कृष्णकुमार राईले अन्य गोर्खा संगठनहरुसंग सल्लाह नगरि मिडियामा आफ्नो तर्फबाट नाम सार्वजनिक गरेर भ्रम सिर्जना गरेको बताएका छन् ।
‘राजदूत लोकदर्शन रेग्मीसहित सेप्टेम्बरमा लन्डनस्थित नेपाली दूतावासमा भएको प्रारम्भिक वार्तामा गठन भएको निर्देशक कमिटीमा आवद्ध भूतपूर्व गोर्खा संगठनका ५ अध्यक्षमध्ये तीन जना वार्तामा बस्ने सहमति भएको कुरा बिर्सेर सत्याग्रहले अहिले भ्रमको खेती शुरु गरेको छ’, सभापति राईले भने, ‘यस्तो संवेदनशील र निर्णायक वार्तामा आफूले चाहेका मान्छे टिपेर सत्याग्रहले बदमासी गर्न लागेको छ, यो हामीलाई स्वीकार्य हुंदैन् ।’
वार्ता समितिमा संलग्न हुने व्यक्तिहरु मन्त्रिपरिषदबाट अनुमोदन हुने राईले बताए ।
नेपाल सरकारले बेलायतका लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त हुनेबित्तिकै उनलाई त्रिपक्षीय कूटनीतिक वार्ताको जिम्मेवारी दिने तयारी गरेको छ ।
भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति नेपालका महासचिव एसबी घिसिङले सुरुआतमा नेपाल सरकार, बेलायत सरकार र संघर्ष समितिबीच त्रिपक्षीय वार्ता हुने र आफ्नो तर्फबाट वार्ता टोली सदस्यमा मेजर जुधबहादुर गुरुङ र राम राईलाई तोकिसकेको जनाएका थिए ।
यसैबीच, गेसोले कूटनीतिक त्रिपक्षीय वार्ताअघि भेटघाट तीव्र पारेको छ । सभापति राईको नेतृत्वमा गेसो प्रतिनिधिले गत बिहीबार परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट गरेका छन् । भेटमा आसन्न वार्ता र गोर्खाहरुका मागबारे छलफल भएको गेसो सभापति राईले बताए । ‘माननीय मन्त्रीज्यूलाई हामीले विगतमा भएका उपलब्धि र अब गरिनुपर्ने कदमबारे स्मरण गराएका छौं’, राईले भने ।
अन्य राजनीतिक दलका नेता र मन्त्रीहरुलाई पनि भेट्ने तयारी गेसोको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


