मंगलबार, जेठ ७, २०८२
06:35 | ११:२०

बेलायतमा कोरोनाका कारण एक लाख ३७ हजार बढीले गुमाए ज्यान 

नेपाली लिङ्क अक्टोबर ५, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका मृत्यु हुनेको संख्या एक लाख ३७ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप १६६ संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख ३७ हजार १५२ पुगेको हो ।

यसैगरी बितेको २४ घन्टामा थप ३३ हजार ८६९ नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । बेलायतमा दैनिक संक्रमण संख्या लगातार ३० हजार भन्दा माथि भएको दुई हप्ता भन्दा बढी भैसकेको छ । तर, संक्रमण दर बढेपनि मृतक संख्यामा खासै वृद्धि भएको छैन । कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्यामा पनि कमी आएको स्वास्थ्य विभागले जनाएको छ ।

गएको एकसातामा संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या ७.१ प्रतिशतले कमी आएको  छ । पछिल्लो २४ घन्टामा ६४२ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेकाको संख्या ६ हजार ७४७ छ । यस्तै ७६९ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४० लाख १५ हजार ९११ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ८९ लाख ९४ हजार ५३० जनाले पहिलो र ४ करोड ५० लाख २१  हजार ३८१ जनाले खोपको दुवै डोज लगाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू