बुधबार, वैशाख १९, २०८१
20:02 | ००:४७

बाइडेनले पहिलो दिनमै गैरकानूनी आप्रवासीलाई नागरिकता दिने बिल संसदमा पठाउने

नेपाली लिङ्क नोभेम्बर १०, २०२०


न्यूयोर्क । अमेरिकी राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेको पहिलो दिन नै जो बाइडेनले अमेरिकामा रहेका झण्डै ११ मिलियन कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने बिल सदनमा पठाउने योजना बनाएका छन्

बाइडेन अभियानका अधिकारीकाअनुसार कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने बिल संसदको तल्लो सदन प्रतिनिधिसभामा पहिले पेश गरिनेछ ।

प्रतिनिधिसभामा डेमोक्र्याट्सहरुको बहुमत आउने उच्च सम्भावना छ । तर, सिनेटमा भने डेमोक्र्याट्सको बहुमत आउने सम्भावना त्यती देखिन्न । सिनेटमा अहिलेसम्म दुबै पार्टीले बराबर ४८-४८ सिटमा नियन्त्रण कायम गरेका छन् । बाँकी दुई सिटमा रिपब्लिकनको अग्रता रहेको छ भने दुई सिटमा जनवरीमा विशेष चुनाव हुने सम्भावना छ ।

सिनेटमा बहुमत कायम गर्न सकेमा पनि थोरै संख्यामा भएपनि रिपब्लिकन सिनेटरहरुमा बिलमा पक्षमा ल्याउन सकेमा भने बिल पारित हुने सम्भावना पनि रहनेछ । बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण गर्न प्रदान गरिएको डाका कार्यक्रमलाई पनि बिलले समेट्नेछ । डाका र टीपीएसमा रहेकालाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने बिलको मर्म हो ।

डाका कार्यक्रम तत्कालिन राष्ट्रपति बराक ओबामाले सुरु गरेका हुन् । त्यतिबेला जो बाइडेन उपराष्ट्रपति थिए । डाकाले झण्डै साढे ६ लाख बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गरेको छ । जसमा नेपाली झण्डै ५ दर्जन छन् । टीपीएसबाहक नेपालीहरु भने झण्डै ९ हजारको हाराहारीमा छन् ।

ट्रम्प प्रशासनले डाका कार्यक्रम अन्त्य गर्न चाहेपनि सर्बोच्च अदालतले प्रकृया नपुगेको भन्दै तत्काल अन्त्य हुनबाट रोकेको थियो । बाइडेन प्रशासनले टीपीएसले समेटेका झण्डै ४ लाखलाई पनि सम्बोधन गर्ने योजना बनाएको छ ।  

पदभार सम्हालेकै पहिलो दिन बाइडेनले ट्रम्पबाट जारी यात्रा प्रतिबन्धहरु खारेज गर्ने योजना बनाएका छन् । ट्रम्पले यात्रा प्रतिबन्ध लगाएका १३ देशमा अधिकांश मुस्लिम बाहुल्य देशहरु छन् । सन् २०१७ मा कार्यभार सम्हाल्ने बित्तिकै ट्रम्पले यात्रा प्रतिबन्धको घोषणा गरेका थिए ।

त्यस्तै ट्रम्पले कोरोनाको महामारीको कारण देखाउँदै आप्रवासीहरुलाई ग्रिनकार्डमा अमेरिका आउन समेत डिसेम्बरको अन्त्यसम्म रोक लगाएका छन् । यो रोक ट्रम्पले थप्नसक्ने सम्भावना पनि छ । तर बाइडेनले कार्यभार सम्हालेपछि यो रोकलाई खारेज गर्ने योजनामा छन् । रोक खारेज भएमा डिभी, रोजगार वा परिवारमा आधारित ग्रिनकार्डमा अमेरिका आउन समस्या हुनेछैन ।

ट्रम्पले कामदार भिषामा कडाई गर्ने कैयन मापदण्ड ल्याएका छन् । बाइडेनले ती मापदण्डहरु पनि खुकुलो पार्ने योजना बनाएका छन् । ट्रम्प प्रशासनले सन् २०२१ का लागि अमेरिका भित्राउने शरणार्थीको संख्या १५ हजारमा झारेकोमा बाइडेनले १ लाख २५ हजार बनाउने योजना बनाएका छन् ।

मेक्सिको र अमेरिकाको सिमा क्षेत्रमा ट्रम्पले लगाइसकेको पर्खाल बाइडेनले भत्काउने छैनन् । तर आफ्नो कार्यकालमा थप एक इन्चपनि पर्खाल नलगाइने बाइडेनले बताएका छन् । सिमा क्षेत्रमा सुरक्षाका लागि आधुनिक मापदण्डहरु अपनाउने बाइडेनको योजना छ ।

सिमाक्षेत्रमा एसाइलम खोज्नेलाई मेक्सिको नै फिर्ता पठाउने नीति ट्रम्प प्रशासनले ल्याएको छ । बाइडेनले यो नीतिलाई खारेज गरी एसाइलममा गरिएको कडाई खुकुलो पार्ने योजना बनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू