अल्डरसटमा सहारा यूकेको १५ औं वार्षिक च्यारिटी डिनर नाइट


लन्डन । सहारा यूकेले १५ औं वार्षिक च्यारिटी डिनर नाइट कार्यक्रम गरेको छ ।
शनिबार अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम भएको हो । आहा रारा गोल्ड कप र सहारा एकेडेमी पोखरामा आश्रित बालबालिकालाई निरन्तर सहयोग गरिरहेको सहारा यूकेले अक्षयकोष स्थापनाका लागि च्यारिटी डिनर गरेको हो ।
लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव संजोग राईको प्रमुख आतिथ्य र सहारा यूके अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अवार्ड वितरण, नयां सदस्यता प्राप्त गरेका सदस्यहरु एवं प्रायोजक तथा सहयोगीलाई सम्मान समेत गरियो ।
कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरुले गायन तथा नृत्य समेत प्रस्तुत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली दूतावासका द्वितीय सचिव संजोग राईले आफू सानैदेखि फुटबलको फ्यान भएको र सहारा यूके जोडिएको आहा गोल्ड कप, खेल विकासमा यसले गरेको योगदान र अन्य च्यारिटीबाट निकै प्रभावित भएको बताए । उनले सहारा यूकेको प्रभावकारिता उच्च रहेको बताउंदै संस्थाले स्थापनाकालदेखि गरेका च्यारिटी काम अरुका लागि समेत प्रेरणादायी रहेको बताए ।
अध्यक्ष शारदा गुरुङले कार्यक्रमका सहभागी, प्रायोजक तथा दाताहरूलाई धन्यवाद दिए ।
अध्यक्ष गुरुङले सहारा यूकेले नेपाल र बेलायतमा खेलकुद विकास, सहारा एकेडेमीमा आश्रित ३० असहाय बालबालिकाको लालनपालन तथा शिक्षामा सहयोग र मातृभूमिको अन्य आपतविपतमा निरन्तर सहयोग गर्दै आएको जनाए ।
औपचारिक कार्यक्रम सञ्चालन गर्दै संस्थाका महासचिव प्रकाश गुरुङले हेल्थ एन्ड सेफ्टी सम्बन्धी जानकारी दिए ।
कार्यक्रम संयोजक एवं सहारा यूके उपाध्यक्ष क्याप्टेन पितम्बर गुरुङले स्वागत मन्तव्य दिएका थिए । त्यसपछि प्रमुख अतिथि संजोग राई र सहारा यूके अध्यक्ष शारदा गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेपछि नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो ।
शुरुमा स्थानीय कलाकार शान्ति गुरुङ र प्यारी गुरुङले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अवार्ड संयोजक एवं पूर्वअध्यक्ष लेफ्टिनेन्ट कुसाङ गुरुङले सहारा यूके अवार्ड र सहारा स्पेशल अवार्ड विजेता घोषणा गरेका थिए ।
संस्थालाई विशिष्ट योगदान दिने व्यक्तिलाई प्रदान गरिने ति अवार्डमध्ये यसवर्ष सल्लाहकार अमृत गुरुङले ‘सहारा यूके अवार्ड’ प्राप्त गरेका छन् भने संस्थाकै सल्लाहकार ज्ञाम गुरुङले ‘सहारा स्पेशल अवार्ड’ प्राप्त गरेका छन् । सो अवसरमा दुवै विजेताको भिडियो बायोग्राफी प्रदर्शन गरिएको थियो ।
औपचारिक सत्रपछि दोश्रो चरणमा सांस्कृतिक प्रस्तुति भएको थियो । सो अवसरमा नेपालबाट आएका राष्ट्रिय कलाकारद्वय प्रिया गुरुङ र पवित्र गुरुङले गायन प्रस्तुति गरे ।
सूर्य गुरुङको सञ्चालनमा राफल ड्र समेत भएको थियो । राफल ड्रको प्रथम पुरस्कार लामा ज्वेलर्स, द्वितीय पुरस्कार रमेश घले र तृतीय पुरस्कार पानस रेस्टुरेन्टका प्रोप्राइटर विमल गुरुङले प्रायोजन गरेका थिए ।
राफल ड्र सकिएपछि राष्ट्रिय कलाकारद्वयको गायनमा सहभागी अबेरसम्म नाचेर रमाए ।
कार्यक्रमका लागि हल प्रवेश अघि दूतावास परिवार, सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह र उनकी धर्मपत्नी तथा अतिथीहरुलाई संस्थाका अध्यक्ष, पूर्वअध्यक्ष र सल्लाहकारहरूले स्वागत गरेका थिए । अतिथिहरूलाई पाइपर धुनसँगै हलभित्र प्रवेश गराइएको थियो ।
तस्विर- मिलन तमु



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



