लन्डन लर्ड मेयर शो परेडमा पहिलोपटक झल्किंदैछ गोर्खाली विरासत र नेपाली संस्कृति


परेडमा सहभागिताको तयारी गर्दै प्रतिभा नक्षत्र संस्थापक राजेन्द्र खस (बाँया), सदस्य प्रकृति र निर्देशक लछुमन गुरुङ ।
लन्डन- यहि शनिबार १४ नोभेम्बरमा लन्डनमा आयोजना हुने लर्ड मेयर शो परेडमा पहिलोपटक नेपाली समुदायको पनि सहभागिता हुने भएको छ ।
लन्डन सिटीलाई नेतृत्व गर्ने नयाँ लर्ड मेयर नियुक्तिको अवसरमा सेन्ट्रल लन्डनमा हुने परेडमा प्रतिभा नक्षेत्रले गोर्खाली विरासत (गोर्खा हेरिटेज) र नेपाली कला, संस्कृतिको विशेष प्रदर्शनी गर्ने भएको हो । हजारौं मानिसको सहभागिता रहने परेडमा अरु दर्जनौं समूह एवम् समुदायको कला, परम्परा झल्काउने प्रस्तुति पनि रहनेछन्।
लन्डन लर्ड मेयरको मुख्य जिम्मेवारी सिटीको व्यवसायिक र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्नु हो। हरेक वर्ष नयाँ लर्ड मेयर नियुक्तिको अवसरमा लर्ड मेयर परेड शो आयोजना गर्ने परम्परा ८ सय वर्षभन्दा लामो समयदेखि चल्दै आएको छ ।
प्रतिभा नक्षेत्रका निर्देशकमध्ये एक लछुमन गुरुङले लन्डनस्थित व्यवसायी सुजन कटुवाल एमबिईको समन्वयमा लर्ड मेयर शोमा सहभागी हुन लागिएको जानकारी दिए ।
‘सिटी अफ लन्डनको मेयर नियुक्तिका अवसरमा सयौं वर्षदेखि हुंदै आएको प्रतिष्ठित परेडमा पहिलोपटक गोर्खा हेरिटेज र नेपाली संस्कृतिको प्रस्तुति गर्न पाउँदा हामी उत्साहित छौं’, निर्देशक गुरुङले भने, ‘नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धनका साथै गौतम बुद्धको शान्ति, पृथ्वीनारायणको एकतादेखि वीर गोर्खाहको वीरतासम्मको सन्देश दिने हाम्रो कोशिस रहनेछ ।’
लन्डनको म्यान्सन हाउसबाट सुरु भएर बैंक, सेन्ट पल्स क्याथेड्रल र फ्लीट स्ट्रिट हुँदै रोयल कोर्ट अफ जस्टिस पुग्ने परेड पुनः म्यान्सन हाउस फर्किनेछ।
परेडमा सैनिक तथा सांगीतिक ब्यान्ड, रथहरू, विभिन्न सांस्कृतिक समूह, झाँकी तथा आकर्षक रूपमा सजाइएका गाडीहरू सहभागी हुनेछन्। यस वर्ष नेपाली समुदायको सांस्कृतिक प्रस्तुति पनि परेडको विशेष आकर्षण रहनेछ।
बिहान ठीक ११ बजे शुरु हुने कार्यक्रम दिउँसो तीनबजेतिर सकिनेछ ।

कोरियोग्राफर रेनुका मगर
प्रतिभा नक्षेत्रको तर्फबाट गरिने प्रस्तुतिको कोरियाग्राफी गरिरहेकी रेनुका मगरले परेडमा ७० जनाभन्दा बढीको टीम सहभागी हुन लागेको बताइन् ।
कोरियोग्राफर मगरका अनुसार परेडको सबैभन्दा अगाडि गौतम बुद्धको प्रदर्शनी गरिनेछ । साथमा रहने लामा गुरु र पण्डितको उपस्थितिले बौद्ध तथा हिन्दू दुवै धार्मिक समुदायको प्रतिनिधित्व गर्नेछ ।
त्यसपछि, दोस्रो लहरमा गोर्खा सेनासहित पृथ्वीनारायण शाहको प्रदर्शनी गरिनेछ । त्यसको पछाडि लाखे नाच, मारुनी, झाँक्रीलगायतको कलात्मक प्रदर्शनी रहनेछन्।
सो अवसरमा नेपालका विभिन्न एक दर्जन जाति र समुदायका कला, संस्कृति, परम्परा, भेषभूषा झल्काउने सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । अन्त्यमा १६ जना स्वयमसेवकले रथमा बोकेर भीसी विजेता गोर्खाको शालिकलाई परेडमा परिक्रमा गराउनेछन्।
परेडमा करिब ७ हजार मानिसको सहभागिता रहनेछ । संसारभरको कला, संस्कृति र परम्परा झल्काउने दर्जनौं संख्याका अरु समूह र समुदायले पनि सांस्कृतिक प्रस्तुतिहरु देखाउनेछन्। परेडको सबैभन्दा अगागि बेलायती सेनाअन्तर्गतको ब्रिगेड अफ गोर्खाजकै ब्यान्डको प्रस्तुति रहनेछ ।
प्रदर्शनीमा गुरुङ, मगर, शेर्पा, तामाङ, नेवार, धिमाल, राई, लिम्बू,थारु, क्षेत्री, खस, मैथिली, ब्राम्हणलगायतका एक दर्जन जाति र समुदायको प्रतिनिधित्व गराइंदैछ।
सन् २०१७ मा राजेन्द्र खसको परिकल्पनामा स्थापना भएको प्रतिभा नक्षेत्रले नेपाली कला, संस्कृति, परम्परा र सम्पदा प्रवर्द्धनका साथै पुस्तान्तरण र गैरनेपाली समुदायसम्म सामाजिक अन्तरघुलनको लक्ष्यमा विभिन्न गतिविधि र कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



