शनिबार, ७ नोभेम्बर, २०२६
11:16 | १७:०१

साउथ इष्ट लन्डनमा स्तन क्यान्सर र मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम हुँदै

नेपाली लिङ्क नोभेम्बर ७, २०२६

लन्डन- साउथ इष्ट लन्डनको नेपाली समुदायमा स्तन क्यान्सर परीक्षण र मानसिक स्वास्थ्यसम्बन्धी एक स्वास्थ्य सचेतना कार्यक्रम हुने भएको छ।

यही नोभेम्बर २८ तारिख शनिबार प्लमस्टेडस्थित ‘चर्च अफ क्राइस्ट द किङ’ मा दिउँसो १२ देखि ४ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ।

नेपाली समुदायमा स्वास्थ्य सचेतना जगाउने लक्ष्यसहित बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुद्वारा संचालित ‘स्वास्थ्य चिया’ अभियानले एनएचएस साउथ इष्ट लन्डन क्यान्सर एलायन्ससँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रममा स्वास्थ्यसम्बन्धी जानकारी, विशेषज्ञ डाक्टर एवं स्वास्थ्यकर्मीहरूसँग प्रत्यक्ष छलफल, प्रश्नोत्तरका साथै निःशुल्क स्वास्थ्य जाँचको अवसर समेत रहनेछ।

सो अवसरमा क्याम्ब्रिज विश्वविद्यालय अस्पतालकी प्लास्टिक सर्जन डा. इन्दिरा योञ्जन लामा, ओक्सलिज अस्पताल ट्रस्टकी विशेषज्ञ मनोचिकित्सक डा. रश्मिना श्रेष्ठ र किङ्स कलेज अस्पतालकी स्वास्थ्य प्रवर्द्धन विशेषज्ञ मिस जुलिया स्मिथले प्रस्तुति दिनेछन्।

डा. इन्दिरा योञ्जन लामाले स्तन क्यान्सर र यसको परीक्षण तथा डा. रश्मिना श्रेष्ठले मानसिक स्वास्थ्य र ‘वेलबिइङ’ बारे प्रस्तुति दिनेछन्। मिस जुलिया स्मिथले साउथ इष्ट लन्डनमा सञ्चालन हुँदै आएको स्तन क्यान्सर परीक्षण कार्यक्रमबारे जानकारी दिनेछिन्।

त्यसैगरी, स्वास्थ्य चिया टीमले स्तनको स्व-परीक्षण गर्ने तरिकाबारे प्राक्टिकल प्रदर्शन गर्नेछ। त्यस अवसरमा विशेषज्ञ डाक्टर एवं स्वास्थ्यकर्मीहरूसँग प्रत्यक्ष छलफल तथा प्रश्नोत्तरको अवसरसमेत रहनेछ।

सोही अवसरमा नेप्लिज नर्सिङ एसोसिएसन यूकेको सहकार्यमा निःशुल्क स्वास्थ्य जाँच गरिनेछ। साथै, योग्य व्यक्तिहरूका लागि रुघाखोकी तथा कोभिड–१९ विरुद्धको निःशुल्क खोप सेवा पनि उपलब्ध हुनेछ। खोप लगाउन चाहने व्यक्तिहरूलाई आफ्नो एनएचएस नम्बर साथमा ल्याउन आव्हान गरिएको छ। सहभागीहरूका लागि निःशुल्क चिया तथा खानाको व्यवस्था पनि गरिएको छ।

‘स्वास्थ्य चिया’ बेलायतका नेपाली स्वास्थ्यकर्मीहरुको पहलमा नेपाली समुदायमा स्वास्थ्यसम्बन्धी जानकारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको अभियान हो। चियासँगै भेटघाट र संवादमार्फत समुदायलाई स्वास्थ्यका विषयमा जानकारी दिने तथा आवश्यक स्वास्थ्य सेवासँग जोड्ने अभियानको उद्देश्य छ।

डा नुमा थेवेले नेतृत्व गरेको यस अभियानको मूल टीममा डा प्रीति गुरुङ, फार्मासिष्ट शोभा शर्मा कंडेल र प्यारामेडिक सोफिया राई छन्।

कार्यक्रममा सहभागी हुन ग्रीनविच तथा सिंगो साउथ इष्ट लन्डनवासी नेपाली समुदायलाई आव्हान गरिएको छ। सो अवसरमा प्रवेश निःशुल्क रहनेछ।

Event details: 

* Date: Saturday, 28 November 2026
* Time: 12pm–4pm
* Venue: Christ the King Church, 46 Lakedale Road, Plumstead, SE18 1PS

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू