बेलायतमा मनाइयो महाकवि देवकोटाको ११७ औं जयन्ती


लन्डन- नेपाली साहित्य विकास परिषद् यूकेले कविता वाचनसहित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जयन्ती मनाएको छ ।
लन्डन एक्टनस्थित एबीआई कलेजमा आयोजित समारोहमा प्रमुख अतिथी परिषद्का पूर्वअध्यक्ष हरिसिंह थापाले महाकवि देवकोटाका कारण नेपाल विश्व साहित्य क्षेत्रमा तुलनात्मकरूपमा अरू ठूला देश माझ गनिने गरेको जनाए ।
महाकवि देवकटा बेलायतका सेक्सपियर्स, मिल्टन लगायत विश्वका अति विशिष्ट साहित्यकारहरू मध्य एक रहेको उनको भनाइ थियो ।
समारोहमा सल्लाहकार तथा परिषदका पूर्व अध्यक्ष खगेन्द्र नेपालीले महाकवि देवकोटा नेपालका अमूल्य निधि भएको भन्दै उनले भाषा साहित्यको शिखर उच्च पारी अन्तराष्ट्रियस्तरमा नेपालको ख्याति र प्रभाव बढाएको बताए ।
पूर्व अध्यक्ष नेपालीले बेलायतमा नेपाली भाषा साहित्य, कलाजस्ता नेपाली पहिचान जिवन्त राख्न परिषद्ले गरेका प्रयास सराहनीय रहेको पनि बताए ।
सभापतिको आसनबाट बोल्दै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतमा नेपाली साहित्य विकास परिषद यूकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटा जयन्ती, नववर्ष लगायतका साहित्यिक गतिविधि बढाउँदै आएको चर्चा गरे ।
अध्यक्ष मल्लले महाकविको असिमित योगदानले नै आज नेपाली साहित्य विश्वस्तरमा उभिन सकेको चर्चा गरे ।
यस अघि स्वागत मन्तव्य राख्दै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण र सम्वर्धन गर्न परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको चर्चा गरे ।
वरिष्ठ सहअध्यक्ष केसीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको बताएक ।

समारोह आरम्भ गर्दै परिषद्की महासचिव डा. सुधा श्रेष्ठले हरेक वर्ष तिहारको आरम्भ सँगै परिषद्ले मनाउँदै आएको महाकवि देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेरणा र उर्जा मिल्ने गरेको बताइन्।
राष्ट्रिय गान, महाकविको तस्बिरमा माल्यार्पण र मंगल धुनबाट आरम्भ गरिएको समारोहमा नेपालमा बाढी पहिरोबाट दिवंगत भएका ज्ञात अज्ञात व्यक्तिहरुको चीर शान्तिका लागि १ मिनेट मौन धारण गरी श्रद्धान्जली र शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरिएको थियो ।
साहित्य र गीतसङ्गीतको मिश्रण रहेको उक्त समारोहमा बसन्तराय क्षत्री, हरिसिंह थापा, खगेन्द्न नेपाली, डा. संगीता स्वच्छा, रेशम अर्याल, मनोज अन्जान, कोमल मल्ल, बासुदेव सापकोटा, सुष्मा भट्टराईले कविता वाचन गरे भने
डा. श्रृजना श्रेष्ठ (नेपालबाट) को कविता सुष्मा भट्टराई र घनबहादुर थापाको कविता कोमल मल्लले वाचन गरेका थिए ।
अध्यक्ष मल्लले सहभागिता र सहयोगका लागि आभार प्रकट गर्दै वरिष्ठ प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल ओबीइ, डा. जनककुमारी धिताल, सल्लाहकार खगेन्द्र नेपाली, सल्लाहकार घनबहादुर थापा, कृष्णा थापा, एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट, पूर्व अध्यक्ष हरिसिंह थापा, सल्लाहकार बिजय थापा, बसन्तराय क्षत्री, देवकुमारी थापा, वरिष्ट सहअध्यक्ष ध्रुब केसी, कोशेलीका पूर्व अध्यक्ष तथा सल्लाहकार मदन थापा, वरिष्ट कोषाध्यक्ष मनोज अन्जान, गोकुल भण्डारी, पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउत, रेशम अर्याल, महासचिव डा. सुधा श्रेष्ठ, पूर्व कार्यकारिणी सदस्य कोहिनूर मल्लप्रति धन्यवाद ज्ञापन गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



