बेलायतमा नेपाली भिलेज परियोजनाद्धारा साढे १३ लाख पाउण्डमा होटल खरिद
अब सञ्चालन हुनेछ ‘द गोर्खा दरबार होटल’

लन्डन- बेलायतमा नेपाली कला, संस्कृति र सभ्यता झल्काउने नेपाली गाउँ निर्माणको अभियानमा रहेको ‘नेपाली भिलेज यूके’ परियोजनाले साढे १३ लाख पाउण्डको लगानीमा एक होटल खरिद गरेको छ।
नेपाली भिलेज परियोजनास्थलनजिक मध्य वेल्सको लाङ्गातोक, क्रिकहावेलस्थित २२ कोठाको चार तारे ‘द ओल्ड रेक्टरी कन्ट्री होटल’ खरिद गरिएको हो। शुक्रबार प्रपर्टीको चाबी बुझेसंगै परियोजनाले कानूनी रुपमै होटलको स्वामित्व ग्रहण गरेको छ।
नेपाली भिलेज यूकेका प्रबन्ध निर्देशकमेजर खुशीमान गुरुङ ‘एमभिओ‘ सहित अन्य निर्देशक तथा सदस्यहरूको टोलीले विधिपूर्वक पूजा गरी भवनमा गृहप्रवेशसमेत गरेको छ।

होटलसँगै कम्पनीले ११ एकर अर्थात् करिब ८७ रोपनी जग्गा, कार्यक्रम आयोजना गर्न मिल्ने ठूलो हल तथा अन्य सुविधासहितको प्रपर्टी खरिद गरेको हो। होटल रहेको स्थान नेपाली भिलेज यूकेको मुख्य परियोजनास्थल टालिबोन्ट अन उस्कबाट करिब ८ माइल र ब्रेकनबाट १५ माइलको सडक दूरीमा पर्छ । यो ठाउँ बेलायती सर्वेक्षक जर्ज एभरेष्ट (जसको नामबाट सगरमाथालाई अंग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरियो) को जन्मस्थान समेत हो।
होटल भवनमा आवश्यक मर्मतसम्भार र सजावटको काम पूरा गरी आउँदो वर्षको अप्रिल महिनादेखि ‘द गोर्खा दरबार होटल’ नामबाट सञ्चालन गर्ने योजना छ। होटलको नामजस्तै संरचना र सजावट पनि नेपालीपन झल्काउने खालको हुनेछ जसका लागि नेपालबाट काष्ठकला र पेन्टिङसहित अन्य मौलिक र कलात्मक सामग्रीहरु ल्याउने योजना छ ।

यसअघि चारतारे होटलका रूपमा सञ्चालनमा रहेको उक्त प्रपर्टीले नेपाली भिलेज यूकेको व्यावसायिक सम्भावना विस्तार गर्ने अपेक्षा छ। होटल सञ्चालनमा आएपछि पर्यटकको आवास, विवाह समारोह, सांस्कृतिक कार्यक्रम, सामुदायिक भेटघाट तथा अन्य व्यवसायिक गतिविधिका लागि भेन्यूसहितका सेवा उपलब्ध गराउनेछ।
नेपाली भिलेजका प्रवन्ध निर्देशक मेजर खुशीमान गुरुङ ‘एमभिओ’ ले होटल खरिदलाई परियोजनाको लागि निकै महत्वपूर्ण र उत्साहजनक उपलब्धिका रुपमा लिएको बताए ।
‘नेपाली भिलेजको अवधारणा र परियोजनाले लिएको लक्ष्यलाई हासिल गर्ने प्रक्रियामा यो होटलको स्वामित्व हाम्रो लागि निकै महत्वपूर्ण खुड्किलो हो’, गुरुङले नेपालीलिंकसंग भने, ‘नेपाली भिलेजलाई दिगो तथा व्यवसायिक दृष्टिले स्थापित र संस्थागत गर्ने मार्गमा बलियो आधार तयार भएको हामीले महशुस गरेका छौं।’

नेपाली भिलेजका प्रवन्ध निर्देशक मेजर खुशीमान गुरुङ ‘एमभिओ
प्रवन्ध निर्देशक गुरुङका अनुसार नेपाली भिलेजअन्तर्गत होटलको परियोजना करिब २ मिलियन (२० लाख) पाउण्डको हो । प्रपर्टीमा साढे १३ लाख पाउण्ड लगानी भइसकेको छ भने मर्मतसम्भारका लागि थप साढे ३ लाख पाउण्ड छुट्याइएको छ ।
यसअघि कम्पनीले अघि बढाएको नेपाली भिलेजको परियोजना छुट्टै साढे एक मिलियन (१५ लाख) पाउण्डको हो । जसमध्ये जग्गा खरिद र संरचना निर्माणमा हालसम्म ११ लाख पाउण्ड खर्च भइसकेको छ । प्रवेशद्धार, कारपार्क, चौतारीलगायतका संरचनाहरु तयार गर्न थप ४ लाख बजेट खर्च गरिंदैछ ।
परियोजनाका लागि करिब तीन वर्षअघि चारकोठे फार्महाउस घर, दुई ठूला बार्न भवन, दुई वटा शेडसहितको २४ एकर अर्थात् करिब १ सय ९३ रोपनी जग्गा खरिद गरिएको थियो। दुई ठूला बार्न भवनहरुमध्ये एकलाई एक्जिबिसन हल र क्याफे तथा अर्कोलाई अफिस र स्टोर बनाउने योजना छ ।
प्रस्तावित संरचना निर्माणका लागि आवश्यक योजना स्वीकृतिको प्रक्रिया अघि बढाइएको छ। कम्पनीले सन् २०२६ डिसेम्बरसम्म सम्बन्धित निकायबाट अनुमति प्राप्त हुने अपेक्षा गरेको छ।
‘नेपाली भिलेज यूके’ बेलायतमा नेपाली मौलिक पहिचान झल्काउने सांस्कृतिक तथा पर्यटकीय गन्तव्य निर्माण गर्ने लक्ष्यसहित अघि बढेको दीर्घकालीन परियोजना हो। जसको उद्देश्य नेपाली कला, संस्कृति, इतिहास र धार्मिक सम्पदालाई बेलायतमा जीवन्त रूपमा प्रस्तुत गर्नुका साथै नेपाल र बेलायतबीच सांस्कृतिक सम्बन्ध सुदृढ बनाउनु हो। भिलेजलाई नेपाली संस्कृति र सभ्यताको अध्ययन तथा अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
नेपाली भिलेजमा भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, सगरमाथा, गोर्खा सैनिकको सालिक, परम्परागत चौतारी, ढुङ्गेधारा, धरहरा, पशुपतिनाथ, बौद्धनाथ तथा १०८ धारालगायत मौलिक नेपाली संस्कृति र परम्परा झल्काउने सम्पदाका प्रतिकृति निर्माण गर्ने योजना छ। साथै, वेल्सको स्थानीय इतिहास, कला, संस्कृति र सम्पदालाई समेत प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ।
नेपाली भिलेजलाई विवाह समारोह, सांस्कृतिक उत्सव, सामुदायिक भेटघाट, ध्यान तथा शैक्षिक गतिविधि र अन्य व्यवसायिक कार्यक्रम सञ्चालन गर्न सकिने बहुउद्देश्यीय केन्द्रका रूपमा विकास गर्ने योजना छ। यसले नेपाली तथा विदेशी पर्यटकलाई नेपाली ग्रामीण जीवनशैली र संस्कृतिको अनुभव दिलाउनुका साथै स्थानीय समुदायलाई आफ्नो कला, संस्कृति र सम्पदा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
नेपाली भिलेज यूकेको मुख्य परियोजनास्थल ब्रेकन बेकन्स राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित छ। कम्पनीका अनुसार उक्त राष्ट्रिय निकुञ्जमा प्रत्येक वर्ष ४० लाखभन्दा बढी पर्यटक आउने गरेका छन्। जसले परियोजना र होटल दुवैको पर्यटकीय तथा व्यवसायिक सम्भावना बढाउने कम्पनीको विश्वास छ।
५ सय भन्दा बढी शेयर बिक्री, डिसेम्बर ५ मा विशेष कार्यक्रम
नेपाली भिलेज यूकेले हालसम्म ५ सय भन्दा बढी शेयर बिक्री भइसकेको जनाएको छ। परियोजनाका शेयरधनीहरुमध्ये अधिकांश बेलायतवासी नेपाली छन् । त्यसबाहेक दर्जनौं शेयरधनीहरु वेल्सकै स्थानीय नागरिक र नेपालमै बसोबास गर्नेहरु पनि छन्।कम्पनीका नौं जना निर्देशक तथा कानूनी र आर्थिक सल्लाहकारहरुको टीममा समेत केही स्थानीय वेल्स नागरिक संलग्न छन्।
नेपाली भिलेज यूकेले सन् २०२६ डिसेम्बरको अन्त्यसम्म थप एक सय शेयर बिक्री गर्ने योजना बनाएको छ। इच्छुक लगानीकर्तालाई शेयरको मूल्य, खरिद प्रक्रिया र लगानीका शर्तबारे कम्पनीका सञ्चालकहरुसँग आधिकारिक जानकारी लिन आव्हान गरिएको छ।
यसैबीच, डिसेम्बर ५, २०२६ मा अल्डरसटस्थित द प्यालेस हलमा शेयरधनी तथा सम्भावित लगानीकर्तासँग विशेष भेटघाट कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा परियोजनाको प्रगति, होटल खरिद, भावी योजना र व्यावसायिक सम्भावनाबारे जानकारी दिइनुका साथै शेयर प्रमाणपत्र वितरण गरिने कम्पनीले जनाएको छ।
प्रबन्ध निर्देशक मेजर खुशीमान गुरुङका अनुसार नेपाली भिलेज यूकेको लक्ष्य व्यवसायिक सफलता हासिल गर्नुका साथै रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन र नेपाली पहिचानलाई भावी पुस्तासम्म हस्तान्तरण गर्नु हो। नेपाली तथा वेल्स सम्पदाको प्रवद्र्धन गर्दै सामुदायिक र व्यवसायिक गतिविधिका लागि साझा गन्तव्य निर्माण गर्ने लक्ष्यसहित कम्पनीले यस अभियानमा सहभागी हुन नेपाली समुदाय, सम्भावित लगानीकर्ता तथा शुभेच्छुकहरूलाई आह्वान गरेको छ।


होटल भवनभित्रको सभाहल
नेपाली भिलेज यूकेको परियोजनास्थलका केही तस्बिरहरू:

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



