बुधबार, २८ अक्टोबर, २०२६
00:19 | ०६:०४

पिटरबरोमा दशैं तिहार उत्सव भव्य

नेपाली लिङ्क अक्टोबर २७, २०२६

लन्डन । पिटरबरो नेपाली समाजले गत २६ अक्टोबरका दिन पिटरबरोस्थित वर्ल्ड बुफे २०२० मा दशैं तथा तिहार उत्सव भव्य मनाएको छ ।

कार्यक्रममा नेपाली संस्कृति, परम्परा, कला र सामुदायिक एकता झल्किएको थियो। बेलायतमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रम सञ्चालन संस्थाका सचिव देवी गौतमले गरेका थिए । उनले समारोहलाई व्यवस्थित रूपमा अगाडि बढाउँदै कार्यक्रममा सहभागी अतिथि, कलाकार तथा समुदायका सदस्यहरूलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।

कार्यक्रमका प्रमुख अतिथि पिटरबरो सिटी काउन्सिलकी नेतृ काउन्सिलर डा. शबिना कय्यूम, पीटरबरोका पूर्वमेयर काउन्सिलर गुल नवाज, भारत हिन्दू समाजका अध्यक्ष किशोर लड्वा, काउन्सिलर अमजद इकबाल, काउन्सिलर राजा साबिल, साझा नेपाली समाजका अध्यक्ष नारायण फुयाल, साझा नेपाली समाजका ट्रष्टी दयानिधि सापकोटा, जीएनसीपीका पूर्वअध्यक्ष दलबहादुर बुढाथोकी तथा पूर्वअध्यक्ष मणिराज जोल्मीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

त्यसैगरी, समाजका पूर्वअध्यक्षहरू, ट्रस्टीहरू, कार्यसमिति सदस्यहरू तथा समाजका सदस्यहरूको उल्लेखनीय सहभागिता थियो।

पीएनएस पर्सन अफ द इयर अवार्ड २०२६ प्रदान

समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै समाजले चार जनालाई ‘पीएनएस पर्सन अफ द इयर अवार्ड २०२६’ बाट सम्मानित गरेको छ।

सम्मानित हुनेहरूमा केशव खतिवडा, लव शर्मा, रमा श्रेष्ठ र केशव पौडेल छन् । उक्त पुरस्कार प्रमुख अतिथि काउन्सिलर डा. शबिना कय्यूम र समाजका अध्यक्ष विष्णुबहादुर थापाले संयुक्त रूपमा प्रदान गरेका थिए ।

सांस्कृतिक प्रस्तुतिले थप्यो रौनक

कार्यक्रममा विशेष अतिथि गायिका अस्मिता दल्लाकोटी, प्रतिभाशाली युवा नेपाली नृत्य कलाकारहरू तथा स्थानीय नेपाली गायकले सांगीतिक र सांस्कृतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतिले कार्यक्रममा थप उत्साह र रौनक थपेको थियो।

समाजका अध्यक्ष विष्णुबहादुर थापाले कार्यक्रम सफल बनाउन साथ र सहयोग गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, कलाकार, स्वयंसेवक, समाजका सदस्य तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

अध्यक्ष थापाले सबैको सामूहिक प्रयास र सहयोगबाट कार्यक्रम सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाली संस्कृति संरक्षण, सामुदायिक एकता र सामाजिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

दशैं तिहारको अवसरमा आयोजित सो उत्सवले बेलायतमा नेपाली कला, संस्कृति र परम्पराको प्रवर्धन गर्नुका साथै समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको समाजको विश्वास छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू