वुल्भरह्याम्प्टनमा बद्री पंगेनीसंगै हाम्रो नेपाली समाजको दशैंतिहार उत्सव

लन्डन- मिडल्याण्डको वुल्भरह्याम्प्टनस्थित हाम्रो नेपाली समाजको दशैँ–तिहार शुभकामना कार्यक्रम विशेष सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न भएको छ ।
सोमबार साँझ वुल्भरह्याम्प्टनस्थित ‘बिटर आर्म्स’ इभेन्ट हलमा आयोजित कार्यक्रममा करिब २ सयको संख्यामा स्थानीय नेपालीको सहभागिता थियो।
नेपालबाट बेलायत आएका चर्चित तथा वरिष्ठ लोकदोहोरी गायक बद्री पंगेनीको सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण थियो। पंगेनीले विभिन्न लोकप्रिय लोकदोहोरी तथा नेपाली लोकभाकाहरू प्रस्तुत गर्दै उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन दिलाएका थिए। उनका चर्चित गीतमा झुम्दै नाचेर दर्शकले दशैँतिहारको उत्सव मनाएका थिए।
कार्यक्रममा स्थानीय कलाकारहरूले पनि नेपाली कला, संस्कृति र परम्परा झल्काउने विभिन्न आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए। स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रममा रौनक थपेको थियो।
समाजकी अध्यक्ष लक्ष्मी खराल गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव ईश्वर रिजालले सञ्चालन गरेका थिए। उपाध्यक्ष सागर गैरेले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा अध्यक्ष लक्ष्मी खराल गैरेले दशैँ तथा तिहारको अवसरमा समाजको तर्फबाट शुभकामना व्यक्त गरिन्। साथै, उनले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने कार्यसमिति, कलाकार, सहयोगी तथा सहभागी सबैप्रति आभार व्यक्त गर्दै धन्यवाद दिइन्।
कार्यक्रमका प्रमुख अतिथि समाजका पूर्वअध्यक्ष एवं साझा नेपाली समाजका उपाध्यक्ष शिव खरालले दशैँ–तिहारको शुभकामना व्यक्त गर्दै प्रवासमा नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न हाम्रो नेपाली समाज वुल्भरह्याम्प्टनले गरिरहेका गतिविधिको प्रशंसा गरे।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष गंगाधर गौतम, गल्कोट समाज यूकेका अध्यक्ष विष्णु चालिसे र नेपाली समाज नटिङहमकी उपाध्यक्ष निरु चालिसेलगायत अतिथिहरूले मन्तव्य व्यक्त गर्दै दशैँ तथा तिहारको शुभकामना दिएका थिए। समाजकी उपाध्यक्ष रिमा सापकोटाले अतिथि सत्कारको जिम्मेवारी सम्हालेकी थिइन्।

अध्यक्ष लक्ष्मी खराल गैरे



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



