मंगलबार, २७ अक्टोबर, २०२६
19:57 | ०१:४२

पुनःस्थापना तथा पुनर्निर्माण प्रभावकारी बनाउन एनआरएनए रचनात्मक छलफलमा

नेपाली लिङ्क अक्टोबर २७, २०२६

काठमाडौँ — बाढीबाट प्रभावित नुवाकोट र रसुवाको राहत, पुनःस्थापना तथा पुनर्निर्माण कार्य प्रभावकारी बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नेतृत्व र स्थानीय जनप्रतिनिधिबीच देवीघाटमा छलफल भएको छ।

मंगलबार आयोजित बैठकमा प्रभावित समुदायको आवश्यकता पहिचान, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग र स्थानीय सरकारसँग समन्वय गरेर पुनःस्थापनाका काम अघि बढाउने विषयमा छलफल गरिएको थियो।

बैठकमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले देवीघाटस्थित राणा भुवनेश्वरी उच्च माध्यमिक विद्यालयलाई आवश्यक सहयोग उपलब्ध गराउन एनआरएनए नेतृत्वसमक्ष प्रस्ताव राखे ।

विपद्पछि शैक्षिक संस्थाको अवस्था सुधार गर्न र विद्यार्थीका लागि सहज शैक्षिक वातावरण सुनिश्चित गर्न सहयोग आवश्यक रहेको उनले बताए ।

मेयर श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा एनआरएनएले देखाएको चासो र सहयोगको प्रशंसा गर्दै स्थानीय आवश्यकता सम्बोधन गर्न प्रवासी नेपाली समुदाय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

त्यसैगरी, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले पनि बाढी प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणका लागि एनआरएनएले देखाएको सक्रियताको प्रशंसा गरे ।

उनले राहतसँगै शिक्षा, स्वास्थ्य, पूर्वाधार र जीविकोपार्जनका क्षेत्रमा दीर्घकालीन सहयोग आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहसँग समन्वय गरेर प्रभावित नागरिकको आवश्यकताअनुसार सहयोग परिचालन गर्नुपर्नेमा जोड दिए ।

पुनर्निर्माणका लागि प्रवासी नेपाली समुदायको सहयोग

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले विपद् र संकटका बेला आवश्यकतामा रहेका नेपाली समुदायको साथमा उभिनु एनआरएनएको महत्वपूर्ण जिम्मेवारी भएको बताए । उनले मातृभूमिमा संकट पर्दा प्रवासी नेपालीले सहयोग, सहकार्य र मानवीय सेवामार्फत योगदान पुर्‍याउनुपर्ने उल्लेख गर्दै प्रभावित समुदायको पुनःस्थापनाका लागि एनआरएनएले सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले आवश्यकतामा रहेका समुदायलाई सहयोग गर्न एनआरएनए प्रतिबद्ध रहेको बताए । शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै एनआरएनए एनसीसीहरुसँग समन्वय गरेर आवश्यकताअनुसार सहयोग र रकम परिचालन गरिने जनाउंदै उनले उपलब्ध स्रोतलाई प्रभावित समुदायको वास्तविक आवश्यकता र प्राथमिकताअनुसार उपयोग गर्नुपर्नेमा जोड दिए ।

बैठकमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का एसिया–प्रशान्त क्षेत्रीय उपसंयोजक भविन्द्र बस्नेतले एनआरएनए थाइल्यान्डले पुनर्निर्माण कार्यका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। उनले प्रवासी नेपाली समुदायको आर्थिक तथा सामाजिक योगदानलाई प्रभावित क्षेत्रको पुनःस्थापनामा परिचालन गर्नुपर्ने पनि बताए ।

नुवाकोट र रसुवाको पुनःस्थापनामा एनआरएनए यूकेको पहल

बैठकमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नुवाकोट र रसुवाको पुनःस्थापनालाई परिषद्को संस्थागत परियोजनाका रूपमा अघि बढाउने निर्णय गरिएको जानकारी दिए । उनले यूकेमा रहेका नेपाली समुदायको सहयोगलाई समन्वय गर्दै प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा राहत तथा पुनःस्थापनाका काम अघि बढाउने प्रयास भइरहेको पनि जनाए ।

देवीघाटकै स्थानीय बासिन्दासमेत रहेका पुडासैनीले आफ्नो जन्मभूमि र प्रभावित समुदायसँग गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै विपद्बाट पीडित नागरिकको दुःखमा साथ दिनु साझा दायित्व भएको बताए ।

उनले एनआरएनए यूकेले विभिन्न स्थानमा छरिएर रहेका सहयोगका प्रयासलाई समन्वयात्मक र व्यवस्थित बनाउँदै प्रभावित समुदायसम्म वास्तविक सहयोग पुर्‍याउन काम गरिरहेको बताए । स्थानीय सरकार, सामाजिक संस्था, प्रभावित समुदाय र विश्वभरिका नेपालीबीच सहकार्य गरेर शिक्षा, स्वास्थ्य तथा दीर्घकालीन पुनःस्थापनामा योगदान पुर्‍याउनु परिषद्को उद्देश्य रहेको उनको भनाइ थियो।

स्थानीय सरकार र एनआरएनएबीच सहकार्यमा जोड

बैठकमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, कोषाध्यक्ष कृष्णप्रसाद तिमल्सिना, एसिया–प्रशान्त क्षेत्रीय उपसंयोजक भविन्द्र बस्नेत, एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, विदुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष लेनिन रञ्जित, त्रिशूली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी तथा देवीघाट ज्येष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालको सहभागिता थियो।

देवीघाट ज्येष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले बाढी प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न तत्परता देखाउने सबैप्रति धन्यवाद व्यक्त गरे । उनले स्थानीय समुदायले सामना गरिरहेका समस्या र आवश्यकताबारे प्रकाश पार्दै प्रभावित नागरिकको वास्तविक आवश्यकतालाई प्राथमिकतामा राखेर सहयोग परिचालन गर्नुपर्नेमा जोड दिए ।

बैठकमा सहभागी स्थानीय जनप्रतिनिधिहरूले एनआरएनएले बाढी प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनामा देखाएको चासो र सहयोगको प्रशंसा गर्दै स्थानीय आवश्यकताअनुसार सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

बैठकले बाढीपछिको पुनःस्थापनामा स्थानीय सरकारको प्राथमिकता र प्रवासी नेपाली समुदायको सहयोगबीच प्रभावकारी समन्वय आवश्यक रहेको सन्देश दिएको छ। शिक्षा, स्वास्थ्य र सामुदायिक संरचनाको पुनर्निर्माणमा सहकार्य अघि बढाउन सके प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा पनि गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू