नेपाली कम्युनिटी ननिटनबाट बाढीपीडितलाई २६ लाख रुपैयाँ सहयोग

लन्डन- बेलायतको ननिटन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले नेपालमा बाढीपहिरोबाट प्रभावितहरूका लागि करिब २६ लाख रुपैयाँ बराबरको सहयोग गरेका छन्।
नेप्लिज कम्युनिटी ननिटनको पहलमा संकलित १२ हजार ९२७ पाउन्ड अर्थात् करिब २६ लाख रुपैयाँ लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारको दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ।
कम्युनिटीका अध्यक्ष नरवीर लक्सम र ननिटनका पूर्वमेयर एवं काउन्सिलर भीम सारुले मंगलबार लन्डनस्थित नेपाली दूतावास पुगेर कार्यवाहक राजदूत विपिन दुवाडीलाई संकलित रकम हस्तान्तरण गरेका हुन्।
नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले समुदायले सहयोग संकलन अभियान सञ्चालन गरेको थियो।
अभियानमा ननिटन नेपाली समुदायका सदस्यहरू, ननिटन एन्ड बेडवर्थ बरोका स्थानीय बासिन्दा, श्री हिन्दू कम्युनिटी, एथरस्टोन इनर ह्विल क्लबका सदस्यलगायत विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका थिए।
विपद्का बेला मातृभूमिका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग र ऐक्यबद्धता प्राप्त भएको थियो।
नेप्लिज कम्युनिटी ननिटनका अध्यक्ष नरवीर लक्समले सहयोग अभियानमा साथ दिने समुदायका सदस्य, स्थानीय संघसंस्था, विभिन्न क्लब तथा व्यक्तिगत रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
विपद्को समयमा नेपालका प्रभावित नागरिकलाई सहयोग गर्न एकजुट भएर योगदान गर्ने सबैको उदारता र मानवीय भावनाको प्रशंसा गर्दै संकलित रकमले पीडितलाई राहत पुर्याउन सहयोग पुग्ने विश्वास अध्यक्ष लक्समले व्यक्त गरेका छन्।
नेपाली तथा विशेषगरी भूतपूर्व गोर्खा समुदायको उल्लेख्य बसोबास रहेको ननिटन क्षेत्रका नेपालीहरूलाई संगठित गर्दै सन् २००५ मा नेप्लिज कम्युनिटी ननिटन स्थापना भएको थियो। संस्थाले स्थापनाकालदेखि नै विभिन्न अवसरमा सामाजिक तथा परोपकारी कार्यहरू गर्दै आएको छ।



