मंगलबार, २७ अक्टोबर, २०२६
18:01 | २३:४६

बेलायतमा शान्ति नेपाली समाजको दशैँतिहार कार्यक्रम- नीता थापा मगरको प्रस्तुतिमा झुमे दर्शक

नेपाली लिङ्क अक्टोबर २७, २०२६

लन्डन- शान्ति नेपाली समाज बेलायतले नेपालीहरूको महान् चाड विजयादशमी तथा शुभ दीपावली २०८३ को अवसरमा एक भव्य शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार बर्मिङहममा आयोजित कार्यक्रममा बालबालिकाका सांस्कृतिक प्रस्तुति, नौमती बाजा, स्थानीय कलाकारका प्रस्तुति तथा ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ की विजेता नीता थापा मगरको सांगीतिक प्रस्तुतिले विशेष रौनक थपेको थियो।

समाजका कार्यवाहक अध्यक्ष निशेन्तमान बज्राचार्यको अध्यक्षतामा तथा प्रमुख सल्लाहकार एवं सामाजिक अभियन्ता कोश्लेश्वर ढकाल प्रमुख अतिथि रहेको कार्यक्रममा समाजकी उपाध्यक्ष पार्वती भण्डारीले स्वागत मन्तव्य दिएकी थिइन् ।

सो अवसरमा समाजका पूर्वअध्यक्ष, संरक्षक, वर्तमान तथा पूर्वकार्यसमिति सदस्य, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, कलाकार तथा सर्वसाधारणको उपस्थिति थियो।

कार्यक्रममा कोभेन्ट्री नेपाली समाजका अध्यक्ष रमेश कँडेल, गल्कोट नेपाली समाजका अध्यक्ष विष्णु चालिसे, सामाजिक अभियन्ता रणबहादुर केसी तथा समाजका पूर्वअध्यक्षहरू लीला थापा र रामप्रसाद न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए।

सांस्कृतिक कार्यक्रममा करिब एक दर्जन बालबालिकाले विभिन्न प्रस्तुति दिएका थिए। समाजको नौमती बाजा समूह, स्थानीय कलाकार तथा नीता थापा मगरको सांगीतिक प्रस्तुतिले कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रममा सहभागीले नेपाली परिकारको स्वादसमेत लिएका थिए।

सो अवसरमा समाजमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा तारा लाम्साल, गीता लाम्साल, जयन्ती उपाध्याय थापा, कोपिला भुसाल, कोपिला अधिकारी, काशी बान, दुर्गा गुरुङ, राजु खत्री, बाबुराम सापकोटा, मुक्त अधिकारी, टीका अधिकारी, बिनिता थापा, विज्ञान पौडेल, साजन डंगोल, कमला ढकाल तथा शान्ति नेपाली समाजको नौमती बाजा समूह थिए।

सम्मान तथा पुरस्कारका लागि सटन नमस्ते इन्डियन एन्ड गुर्खा कुजिन, यु ट्री बार एन्ड रेस्टुरेन्ट तथा द रोयल क्यासल बार एन्ड रेस्टुरेन्टले सहयोग गरेका थिए।

कार्यक्रमको औपचारिक सत्र महासचिव शशांक शर्माले र सांस्कृतिक तथा अनौपचारिक कार्यक्रम सचिव डीआर पराजुलीले सञ्चालन गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू