सोमबार, २६ अक्टोबर, २०२६
19:59 | ०१:४४

बङ्गालको खाडीमा विकसित चक्रवातले नेपालमा फेरि भारी वर्षा र हिमपात जोखिम

रासस अक्टोबर २६, २०२६

काठमाडौँ, कात्तिक ९ गते । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले आगामी बिहीबारदेखि सुरू भई विषेशगरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै हिमपात हुने सम्भावना रहेको रहेको जनाएको छ ।

विभागले सोमबार बिषेश बुलेटिन जारी गर्दै केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागक अनुसार बङ्गालको खाडीमा रहेको उक्त चक्रवात क्रमशः शक्तिशाली बन्दै उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने र भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनमको बीचमा पर्ने यानम नजिक तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ । यसको प्रभावले नेपालमा मौसम बदली भई वर्षा र हिमपात हुनसक्ने विभागले जनाएको छ ।

बुलेटिनअनुसार कात्तिक १२ गते बिहीबारदेखि मौसममा परिवर्तन सुरु हुने र विशेषगरी शुक्रबार तथा शनिबार कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ ।

कात्तिक १३ गते शुक्रबारदेखि १४ गते शनिबारसम्म कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना छ । केही स्थानमा भारी वर्षा हुनसक्न विभाग अन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि मध्यमदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ ।

सम्भावित वर्षाका कारण धानबाली भित्र्याउने कार्य प्रभावित हुनसक्ने भएकाले किसानलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा प्रतिकूल मौसमका बेला सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

वर्षा र हिमपातका कारण चिसो बढ्नुका साथै बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू