आइतबार, २५ अक्टोबर, २०२६
13:37 | १९:२२

लन्डन पशुपतिनाथ मन्दिरमा टीका बिदाइसहित दशैं विशेष कार्यक्रम समापन

नेपाली लिङ्क अक्टोबर २५, २०२६

लन्डन- पशुपतिनाथ मन्दिर लन्डनमा यस वर्षको दशैंका अवसरमा संचालन गरिएको दुई हप्ते दशैं विशेष कार्यक्रम सम्पन्न भएको छ।

कोजाग्रत पूर्णिमाको दिन आइतबार बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडीको विशेष उपस्थितिमा टीका बिदाइ तथा दशैं विशेष कार्यक्रम समापन गरिएको हो।

सो अवसरमा मन्दिरका अध्यक्ष रोमनाथ पाण्डेले कार्यवाहक राजदूत दुवाडी र उनको परिवारका सदस्य एवं दूतावासका कर्मचारीलाई टीका, जमरा लगाइदिए।

मन्दिरका पदाधिकारी एवं अरु भक्तजनहरुले कार्यवाहक राजदूतबाट टीका, जमरा ग्रहण गरे ।

सो समयका मन्दिरका पण्डितहरु निलहरि घिमिरे, विनोद पन्थी, अमृत गैरे र कृतन नेपालले स्वस्तिवाचन गरेका थिए।

कोजाग्रत पूर्णिमाको अवसरमा शंख घण्ट ध्वनिसहित मन्दिर परिक्रमा गरी नवरात्रीभर पूजा गरिएको फूलपाती विसर्जन गरिएको थियो।

मन्दिरमा सधैंजस्तै यसपटक पनि घटस्थापनाका दिनदेखि नै विविध कार्यक्रम गरिंदै आएको थियो । फूलपातीको दिन विधिपूर्वक फूलपाती भित्र्याइएको थियो भने महानवामीमा नवकन्या पूजा गरिएको थियो।

विजया दशमीको दिन मन्दिरमा आयोजित सामूहिक टीका, जमरा वितरण कार्यक्रममा करिब १ हजार स्थानीय नेपालीहरु सहभागी भएका थिए।

दशैं कार्यक्रममा सहभागी सबै भक्तजनहरुलाई मन्दिरका तर्फबाट चिया, फलफूल, प्रसाद वितरण गरिएको कोषाध्यक्ष रामकृष्ण अर्यालले जानकारी दिए।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेले यस वर्षको दशैं विशेष कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न र सफल पार्न सहयोग गर्ने सबैप्रति मन्दिर व्यवस्थापन समितिको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू