नेपाली कल्चरल सेन्टर यूकेको दशैं शुभकामना


लन्डन– नेपाली कल्चरल सेन्टर यूकेले बडादशैंको अवसरमा एक भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
केन्द्रका उपसंयोजक भीमलाल भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गुरुहरुद्वारा स्वस्तिवाचन गरिएको थियो ।
कार्यक्रमका मुख्य वक्ता कथा व्यास पण्डित कुबेर सुवेदीले धर्म, संस्कृति र मातृभूमिप्रतिको अपार मायाले सम्पूर्ण नेपालीहरुलाई जोडेको बताए । जन्मभूमिबाट टाढा भए पनि संस्कार र संस्कृतिबाट टाढा हुन नसकिने उल्लेख गर्दै उनले भने, ‘हामीभित्र रहेका अहंकार र क्रोधलाई पराजित गरेर मात्र असल बन्न सकिन्छ। आफ्ना सन्तानलाई संस्कार र संस्कृतिसँग जोड्नु आजको आवश्यकता हो ।’
उनले आगामी एक वर्षभित्र सांस्कृतिक केन्द्र स्थापना गर्ने योजनासहित अगाडि बढ्न शुभकामना दिए ।
कार्यक्रममा गुरु चिरञ्जीवी ढकालले विजया दशमीको शुभकामना दिँदै पश्चिम लन्डनबासीका लागि सांस्कृतिक केन्द्र तथा मन्दिर निर्माणको पहल सौभाग्यको विषय भएको बताए । ‘यदि हामीले आज प्रयास गरेनौं भने भावी पुस्ताले हामीलाई प्रश्न गर्नेछन्’, उनले भने । ढकालले सम्पूर्ण युकेवासी नेपाली समुदायलाई सहयोगका लागि अपिल पनि गरे ।
त्यस्तै, स्कटल्यान्डबाट सहभागी भएका आचार्य श्री माधवशरणले दोस्रो पुस्तालाई संस्कार र संस्कृति हस्तान्तरण गर्न केन्द्रको ठूलो आवश्यकता रहेको बताए । उनले जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कार गर्न सकिने गरी केन्द्र निर्माण हुनुपर्नेमा जोड दिए ।
नेपाली सांस्कृतिक केन्द्र यूकेका संरक्षक गुरु निलहरि घिमिरेले धेरैजनाको तन, मन र धनको सहयोगले यो अभियान अवश्य सफल हुने विश्वास व्यक्त गरे । जग्गा प्राप्तिको प्रक्रिया छिटो मूर्त रुप दिन सके थप सहयोगीहरु अगाडि आउने उनको भनाइ थियो।
उक्त अवसरमा हालसम्म केन्द्रमा ११६ जना संस्थापक सदस्यहरु जोडिइसकेको र १ लाख २२ हजार पाउण्ड सहयोगको प्रतिवद्धता प्राप्त भइसकेको जानकारी दिइएको थियो । मासिक डाइरेक्ट डेबिट वा किस्ताबन्दी (इन्स्टलमेन्ट) मार्फत १ हजार पाउण्डसम्म सहयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
कार्यक्रममा मोर्गेज सल्लाहकार ऋषि खनालले मन्दिरका लागि भवन तथा जग्गा खरिद गर्न मोर्गेज प्राप्त गर्ने प्रक्रियाबारे प्राविधिक जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा संस्थापक सदस्य सीताराम भण्डारी, शम्भु अर्याल, नारायण फुंयाल, पत्रकारद्वय भगीरथ योगी र दिनेश परियार, डिएन खराल, गोविन्द सापकोटा (मिडल्यान्ड्स), उमेश पुन (कोल्चेस्टर), निरुषा भट्टराई पाण्डे, कल्पना त्रिपाठी, टिका कुमारी राई, कमल कँडेल लगायतले बडादशैंको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सुरुमा पण्डित गोविन्द नेपालले स्वस्ति वाचन गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



