शुक्रबार, १६ अक्टोबर, २०२६
22:18 | ०३:०३

प्रधानमन्त्री शाहको भारत भ्रमण मङ्सिर दोस्रो साता

रासस अक्टोबर १६, २०२६

काठमाडौँ, असोज ३० गते । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताएका हुन् ।

विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने समाचारहरू सार्वजनिक भएका छन्। मन्त्री खनालले भने, “आजको दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिरसकेका छैनौं ।”

वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी गराउँदै उनले प्रधानमन्त्रीको आगामी भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने आफूहरूको चाहना रहेको बताए ।

“भ्रमणको दौरान ‘ट्रेड र ट्रान्जिट’, कनेक्टिभिटी, ऊर्जा, सीमालगायत विषयमा सकारात्मक प्रगती होस् भन्ने छ” मन्त्री खनालले भने ।

भ्रमणको क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजना उद्घाटन र शिलान्याससँगै विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । गत १३ चैतमा वर्तमान सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको पहिलोपटक भारत भ्रमण हुन लागेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू