आइतबार, ४ अक्टोबर, २०२६
10:30 | १५:१५

परराष्ट्रमन्त्री खनाल फिजी प्रस्थान, त्यसपछि अष्ट्रेलिया

रासस अक्टोबर ४, २०२६

अर्काइभबाट

काठमाडौँ, असोज १७ गते । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन आज फिजी प्रस्थान गरेका छन् ।

फिजी र टुभालुमा यही अक्टोबर ५ र ६ तारिखमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।

मन्त्री खनालले अक्टोबर ६ तारिखमा आयोजना हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी) मा सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । उक्त सत्रअघि उनले पलाउका राष्ट्रपति तथा अष्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउनेछन् ।

जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने प्रि–कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तरराष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

फिजी र टुभालुमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाएपछि परराष्ट्रमन्त्री खनाल अष्ट्रेलिया प्रस्थान गर्नेछन् । उनले अक्टोबर ८ तारिख अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटवार्ताका क्रममा नेपाल–अष्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ । अष्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा रहेका नेपाली डायस्पोराद्वारा छुट्टाछुट्टै आयोजना गरिने कार्यक्रममा समेत सहभागिता जनाउनेछन् । ती कार्यक्रममार्फत खनालले अष्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने मन्त्रालयले जनाएको छ । मन्त्री खनाल अक्टोबर १२ तारिख नेपाल फर्कने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू