सोह्र अर्थात् महालय श्राद्ध: एक विवेचना

लन्डन । सोह्र श्राद्ध (पार्वण वा महालय श्राद्ध) मा दुईवटा विश्वेदेव र एउटा भूस्वामीको स्थापना गरिन्छ। सामान्यतया ब्राह्मण वा कुशको ब्राह्मण (प्रतीक) स्थापना गरी यिनीहरूको पूजा गरिन्छ। दुईवटा विश्वेदेव, एउटा भूस्वामी र ब्राह्मणहरूको स्थापना गर्नुको पनि शास्त्रीय अर्थ र रहस्य छ।
दुईवटा विश्वेदेव स्थापना गर्नुको अर्थ पार्वण वा महालय श्राद्धमा ‘पुरुरवा’ र ‘आर्द्रव’ नामक दुई विशिष्ट विश्वेदेवहरूको आह्वान र स्थापना गर्नु हो। धर्मशास्त्रको नियम, जस्तै कात्यायन सूत्रको—
“द्वौ दैवे पितृकृत्ये त्रीनेकैकमुभयत्र वा।
भोजयेत्सुसमृद्धोऽपि न प्रसज्जेत विस्तरे॥”
अनुसार देवकार्यका लागि दुईवटा स्थान तोकिएको हुन्छ।
वैदिक मान्यताअनुसार सृष्टि र ऊर्जा सधैँ जोडा सकारात्मक, नकारात्मक, दायाँ–बायाँ र सूर्य–चन्द्रमा सन्तुलित हुन्छन्। दुईजना विश्वेदेवले श्राद्धको रक्षा गर्छन्। सोह्र श्राद्धमा धेरै पुस्ताका पितृहरू पितापक्ष, मातापक्ष, मावली आदिको आह्वान गरिने हुनाले व्यापक सुरक्षा र साक्षीको आवश्यकता पर्छ। पुरुरवाले पितृलोकको मार्ग खोल्ने र आर्द्रवले पितृहरूलाई हव्य (अन्न–जल) पुर्याउने जिम्मेवारी वहन गर्छन् भन्ने धार्मिक विश्वास छ।
एउटा भूस्वामी स्थापना गर्नुको अर्थ श्राद्धकर्म गर्ने निश्चित भूमि, जग्गा वा स्थान एउटै हुने भएकाले एउटा भूस्वामी स्थापना गर्नु हो। हामी जुन जग्गा वा आसनमा बसेर श्राद्ध गर्दैछौँ, त्यस निश्चित भूमिको अधिपति क्षेत्रपाल वा वास्तुपुरुष एउटै हुन्छ। त्यसैले एउटा मात्र स्थापना गरे पुग्छ।
एउटा भूस्वामीको स्थापना गरेर पूजा गर्नुको अर्थ, “मैले यो पवित्र कार्यका लागि हजुरको भूमि प्रयोग गर्दैछु, मलाई अनुमति र सुरक्षा प्रदान गर्नुहोस्” भनी प्रार्थना गर्नु हो। यसले भूमिलाई दोषमुक्त र श्राद्धका लागि योग्य बनाउँछ।
संक्षेपमा भन्नुपर्दा, सोह्र श्राद्धमा सम्पूर्ण पितृहरूको तृप्तिका लागि देव र भूमिको सन्तुलन मिलाउन दुई देव (विश्वेदेव) र एक क्षेत्र (भूस्वामी) को विधान राखिएको हो।
अब सोह्र श्राद्धका क्रममा पितापक्ष (पितृत्रयी) र मातापक्ष (मातृत्रयी) का लागि कतिवटा ब्राह्मण (कुशका ब्राह्मण) स्थापना गर्नुपर्छ वा पिण्डको सङ्ख्या कति हुनुपर्छ भन्ने विषयमा पनि एउटा सानो चर्चा गरौँ। ‘पितृ देवो भव’ नै सोह्र श्राद्धको शास्त्रीय रहस्य र विज्ञान हो।
आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च।
प्रयच्छन्ति तथा राज्यं प्रीता नृणां पितामहाः॥
सनातन हिन्दू संस्कृतिमा आश्विन कृष्ण पक्ष अर्थात् पितृपक्षको एउटा विशिष्ट स्थान छ। यो समय भनेको हाम्रा पूर्वजहरू, जसको रगत हाम्रो नसामा बगिरहेको छ, उनीहरूप्रति कृतज्ञता प्रकट गर्ने महापर्व हो। कतिपयले श्राद्धलाई केवल एउटा रूढिवादी परम्परा वा अन्धविश्वास मान्न सक्छन्। तर हाम्रा वेद, पुराण र स्मृति ग्रन्थहरूमा श्राद्धकर्मको एउटा अत्यन्तै वैज्ञानिक, आध्यात्मिक र व्यवस्थित विधान बताइएको छ।
आजको यो अङ्कमा हामी सोह्र श्राद्ध (महालय श्राद्ध) भित्र लुकेका केही यस्ता गुप्त र अनिवार्य शास्त्रीय रहस्यहरूको चर्चा गर्नेछौँ, जुन धेरैलाई थाहा नहुन सक्छ। श्राद्धमा ‘भूस्वामी’ र ‘विश्वेदेव’ किन राखिन्छन् भन्ने विषयमा त माथि चर्चा गरिसकियो। पितापक्ष र मातापक्षका लागि कतिवटा कुशका ब्राह्मण र पिण्ड स्थापना गर्नुपर्छ? शास्त्रीय प्रमाणहरूका साथ यी प्रश्नहरूको उत्तर पनि खोजौँ।
श्राद्ध सुरु गर्दा पण्डितज्यूले सबैभन्दा पहिले भूस्वामी र विश्वेदेवको स्थापना गराउनुहुन्छ। धेरैलाई लाग्न सक्छ—पितृको श्राद्धमा अरूको पूजा किन? शास्त्र भन्छ कि पितृकार्य एक्लै पूरा हुन सक्दैन। यसका लागि दृश्य र अदृश्य शक्तिको सन्तुलन आवश्यक पर्छ।
विश्वेदेव भनेको ब्रह्माण्डका समस्त देवताहरूको सामूहिक रूप हो। पार्वण वा महालय श्राद्धमा ‘पुरुरवा’ र ‘आर्द्रव’ नामक दुईवटा विश्वेदेवको आह्वान र स्थापना गरिन्छ भनेर यहाँहरूलाई अगाडि पनि चर्चा गरिसकिएको छ। कात्यायन श्रौतसूत्रमा माथि भनिएअनुसार देवकार्यका लागि दुईवटा र पितृकार्यका लागि तीनवटा पुस्ताको नियम छ। सोहीअनुसार ब्राह्मणहरूको व्यवस्था गरिएको हुन्छ।
अग्निपुराण र मनुस्मृतिमा लेखिएको छ—
देवकार्याद् द्विजैः पित्र्यं कार्यं विधिकरैः सदा।
रक्षांसि हि विप्रलुम्पन्ति श्राद्धमदैविकं हि यत्॥
यसको अर्थ हो—देवताको पूजा नगरी गरिएको श्राद्धलाई आसुरी शक्तिहरूले नष्ट गरिदिन्छन्। विश्वेदेवहरू श्राद्धका ‘साक्षी’ र ‘रक्षक’ हुन्। यिनीहरूले पितृलोकको मार्ग खोल्छन् र हामीले दिएको अन्न–जल पितृहरूसम्म पुर्याउने माध्यम बन्छन्। त्यसैले दुईवटा विश्वेदेव अनिवार्य छन्।
अब भूस्वामीका विषयमा पनि अलि विस्तृतमा कुरा गरौँ। हामी जुन भूमिमा बसेर श्राद्ध गर्छौँ, त्यस भूमिको एउटा ऊर्जा वा क्षेत्रपाल हुन्छ। शास्त्रअनुसार पितृहरूलाई तर्पण र पिण्ड दिँदा भूमिलाई दोषमुक्त बनाउनुपर्छ।
मार्कण्डेय पुराणअनुसार भूमिदेव वा भूस्वामीको अनुमति बिना गरिएको श्राद्धको फल पितृहरूले पाउँदैनन्। त्यसैले हामी जुन आसनमा बस्छौँ, त्यस भूमिको रक्षाका लागि एउटा भूस्वामीको स्थापना र पूजा गरिन्छ, ताकि त्यहाँका नकारात्मक ऊर्जाहरू शान्त होऊन्।
यसैगरी श्राद्धमा ब्राह्मणलाई भोजन गराइन्छ। यदि प्रत्यक्ष ब्राह्मण उपलब्ध नभएमा वा महालय श्राद्धको विशेष विधिमा कुशको ब्राह्मण (प्रतीक) स्थापना गरिन्छ। सोह्र श्राद्धमा पितापक्ष (पितृत्रयी) र मातापक्ष (मातृत्रयी) का लागि छवटा कुशका ब्राह्मण स्थापना गर्ने विधान छ।
शास्त्रले पितृहरूलाई तीन–तीन पुस्तामा विभाजन गरेको छ। याज्ञवल्क्य स्मृतिमा भनिएको छ—
वसवः पितरो ज्ञेया रुद्राश्चैव पितामहाः।
प्रपितामहास्त्वादित्याः श्राद्धे देवाश्च लौकिकाः॥
यसको अर्थ हो, हाम्रा पिता ‘वसु’ रूप हुन्, हजुरबाबु (पितामह) ‘रुद्र’ रूप हुन् र बराजु (प्रपितामह) ‘आदित्य’ रूप हुन्।
त्यसैले सोह्र श्राद्धमा पितापक्षका लागि तीनवटा ब्राह्मण पिता, पितामह र प्रपितामहका लागि स्थापना गरिन्छन्। मातापक्षका लागि तीनवटा ब्राह्मण, माता (आमा), पितामही (हजुरआमा) र प्रपितामही (बजू) का लागि स्थापना गरिन्छन्।
यसरी कुल छवटा मुख्य ब्राह्मण स्थापना गरिन्छ। यदि हामीले अघि चर्चा गरेका दुईवटा विश्वेदेव र एउटा भूस्वामीलाई पनि जोड्ने हो भने श्राद्धको मण्डपमा कुल नौवटा कुशका ब्राह्मण वा स्थान स्थापना हुन्छन्। यसले हाम्रो पितृवंश र मातृवंश दुवैको ऋणबाट मुक्त हुन मद्दत गर्छ।
अब जाऔँ श्राद्धको सबैभन्दा मुख्य भागमा। त्यो हो—पिण्डदान। पिण्ड भनेको शरीर र ब्रह्माण्डको प्रतीक हो। सोह्र श्राद्धमा कतिवटा पिण्ड दिनुपर्छ त?
शास्त्रमा यसका दुईवटा मुख्य विधि छन्, जुन तपाईँको कुलपरम्परा र सामर्थ्यमा निर्भर गर्छन्।
पहिलो विधि छवटा पिण्डको हो। यो मुख्य विधि हो। यदि तपाईँ केवल आफ्ना आमाबाबुको तीन–तीन पुस्ताको मात्र श्राद्ध गर्दै हुनुहुन्छ भने छवटा पिण्ड दिइन्छ। तीनवटा पितापक्ष बाबु, हजुरबाबु र बराजुका लागि तथा तीनवटा, मातापक्ष आमा, हजुरआमा र बजूका लागि दिइन्छ।
दोस्रो विधि १२ वटा पिण्डको हो। यसलाई महालयको विस्तृत विधि भनिन्छ। सोह्र श्राद्धलाई ‘महालय’ श्राद्ध भन्नुको कारण पनि यही हो—यो विस्तृत विधि हो। महालयको अर्थ संसारका तमाम दिवङ्गत आत्माहरूको मिलन हुने ठूलो घर हो। विष्णुपुराण र श्राद्धकल्पतरुजस्ता ग्रन्थहरूमा महालय श्राद्धमा १२ वटा पिण्ड दिने कार्यको उच्च महत्त्व बताइएको छ।
यसको गणित यस प्रकार छ—
तीन पिण्ड पितापक्ष—बाबु, हजुरबाबु र बराजुका लागि, तीन पिण्ड, मातापक्ष आमा, हजुरआमा र बजूका लागि, तीन पिण्ड, मातामह पक्ष अर्थात् मावली खलक मावली हजुरबाबु, बूढो हजुरबाबु र कुप्रो हजुरबाबुका लागि तथा तीन पिण्ड कारुणिक पितृका लागि दिइन्छ।
कारुणिक पितृ भनेका ती दिवङ्गत आत्माहरू हुन्, जो हाम्रा नजिकका नातेदार थिए, जस्तै दाजुभाइ, दिदीबहिनी, गुरु वा जसको सन्तान नभएर अपुताली परेको छ र उनीहरूलाई पिण्ड दिने कोही छैन। यही कारुणिक पिण्डमा हामीले घरमा संरक्षण गरेर राखेका समस्त प्राणीहरू जस्तै घरका गाईवस्तु, कुकुर र बिरालोसमेत पर्छन्।
शास्त्र भन्छ, जसले महालयमा यसरी १२ पिण्ड दिएर कारुणिक पितृहरूको उद्धार गर्छ, उसलाई करोडौँ अश्वमेध यज्ञको फल प्राप्त हुन्छ।
ॐ द्यौः शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः
त्यसैले श्राद्धमा स्थापना गरिने देवता र पितृहरू अनि दिइने पिण्डहरूको सङ्ख्या—जस्तै दुईवटा विश्वेदेव, एउटा भूस्वामी, छवटा कुशका ब्राह्मण र छ वा १२ वटा पिण्ड केवल सङ्ख्या मात्र होइनन्। यो त प्रकृतिका पञ्चतत्त्व, भूमि, देवता र हाम्रा पूर्वजहरूबीचको सम्बन्ध जोड्ने एउटा दिव्य आध्यात्मिक सेतु रहेछ। हाम्रा ऋषिमुनिहरूले बनाएको यो नियमले हामीलाई आफ्ना दिवङ्गत पुस्तासँग सधैँ जोडिरहन्छ।
आशा छ, आजको यस आलेखबाट सोह्र श्राद्धको शास्त्रीय नियम र यसको महत्त्वलाई गहिराइबाट बुझ्न सक्नुभयो भने मात्र पनि पितृहरूप्रतिको आदरभाव प्रकट हुनेछ। आफ्नो कुलपरम्पराअनुसार श्राद्धलाई पूर्ण श्रद्धाका साथ सम्पन्न गर्नुहोस्। पितृहरूको आशीर्वाद सदैव परिवारमा रहिरहोस्। सबैको जय होस्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


