एनआरएनए स्वास्थ्य टोली शिविरका लागि रसुवातर्फ प्रस्थान


काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) टोली २० औँ दिनमा पनि निरन्तर खटिएको छ ।
यस क्रममा भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई लक्षित गरी स्वास्थ्य सेवा उपलब्ध गराउन एनआरएनएको स्वास्थ्य टोली रसुवाको उत्तरगया गाउँपालिका–३, डाँडागाउँतर्फ प्रस्थान गरेको छ । यद्यपि बाटोको खराब अवस्थाका कारण टोली भोलि मात्रै गन्तव्यमा पुग्नेछ । ग्लोवल स्वास्थ्य विभागकी सहसंयोजक प्रसुना कंडेलको संयोजकत्वमा गएको टोलीले डाँडा गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी बाढी प्रभावित स्थानीयको स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्नेछ।
उक्त टोलीमा डा.कावेरी कार्की, डा. शोभित गुरुङ, केशव राज खनाल र हरि खोजु सहभागी छन् । स्वास्थ्य शिविरका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको छ। यसै क्रममा हाप्सा नेपालले बाढी प्रभावित १०० परिवारका लागि स्वास्थ्य तथा हाइजिन किट उपलब्ध गराएको छ। उटोलीले प्रभावित समुदायको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यकताअनुसार स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध गराउनेछ।
यसअघि हिजो सोमबार शिविरका लागि आवश्यक सम्पूर्ण तयारी सकेर आज बिहान उक्त टोली विहान ७ बजे नै रसुवा प्रस्थान गरेको थियो ।
३ करोड १६ लाख रुपैयाँभन्दा बढी रकम संकलन
भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी छ । पदाधिकारीहरु, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा विदेशमा रहेका नेपालीहरुको व्यक्तिगत तर्फबाट हालसम्म ८ करोड ४९ लाख बत्तीस हजार चार सय दुई रुपैयाँ सहयोग प्रतिबद्धता प्राप्त भएकोमा ३ करोड १६ लाख ८३ हजार ७१९ रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ। बाँकी प्रतिबद्धता रकम संकलन तथा जम्मा गर्ने प्रक्रिया जारी छ ।
पहिलो चरणमा एनसीसी साउदी अरेबिया, बहराइन, म्यानमार र नर्वेले फन्डरेजिङ अभियान सम्पन्न गरेका छन् । बहराइन (२५ लाख ७९ हजार ३२८ रुपैयाँ), ओमान (१३ लाख १५ हजार रुपैंयाँ), नर्वे (१७ लाख ८९ हजार ८४२ रुपैंया),साउदी अरेबिया (१० लाख रुपैयाँ) र म्यानमारबाट (६ लाख १ हजार रुपैयाँ) प्राप्त भएको छ।
बाँकी एनसीसीहरूबाट प्रतिबद्धता गरिएको रकम संकलन तथा जम्मा गर्ने प्रक्रिया जारी छ। संघका कोषाध्यक्ष तथा सम्बन्धित प्रतिनिधिहरूमार्फत निरन्तर समन्वय र पत्राचार भइरहेकाले बाँकी प्रतिबद्धता रकम पनि क्रमशः कोषमा जम्मा हुने क्रममा छ ।
राहत वितरण तथा स्थलगत भ्रमण सकेर एनआरएनए टोली काठमाडौंमा
रसुवा र नुवाकोटमा जारी राहत तथा मानवीय सहयोग अभियानअन्तर्गत हिजो १९औँ दिनमा राहत वितरण तथा स्थलगत भ्रमणमा गएको एनआरएनएको टोली काठमाडौं फर्किएको छ। टोलीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ का बाढी तथा पहिरो प्रभावित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको थियो।
साथै, बाढीका कारण स्याफ्रुबेँसीबाट विस्थापित भई गोसाइँकुण्ड गाउँपालिका–५, ठूलो स्याफ्रुमा आश्रय लिएर बस्दै आएका १५० परिवारलाई राहत सामग्री वितरण गरेको थियो। टोलीले स्याफ्रुबेँसी, बेत्रावती तथा चिलिमे आसपासका प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय जनप्रतिनिधि तथा प्रभावित समुदायसँग भेटेर त्यहाँको अवस्था तथा आवश्यकताबारे जानकारीसमेत लिएको थियो।
यसैबीच रसुवा र नुवाकोटमा सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानको हालसम्मको प्रगति तथा राहत कार्यक्रमको समीक्षा गर्दै अभियान थप प्रभावकारी बनाउने विषयमा रणनीतिक बैठक बसेको छ। एनआरएनएका महासचिव डा. चिरन्जीवी खड्काको नेतृत्वमा बसेको बैठकमा हालसम्म सञ्चालन गरिएका राहत तथा मानवीय सहयोगका गतिविधिबारे समीक्षा गरिएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


