शुक्रबार, ११ सेप्टेम्बर, २०२६
13:23 | १८:०८

एनआरएनए नाइजेरिया र घानाद्वारा अर्थमन्त्रीसमक्ष भोटेकोशी बाढीपीडितका लागि सहयोग हस्तान्तरण

नेपाली लिङ्क सेप्टेम्बर ११, २०२६

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरिया र घानाले भोटेकोशी बाढीपीडितका लागि संकलित राहत सहयोग आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।

एनआरएनए नाइजेरियाले नाइजेरियामा रहेका नेपाली, नेपालका शुभचिन्तक तथा औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानहरूबाट संकलित नाइजेरियाली रुपैयाँ ७७ लाखको चेक माननीय अर्थमन्त्रीज्यूमार्फत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो।

एनआरएनए नाइजेरियाका तर्फबाट पूर्वअध्यक्षहरू विश्वास पौडेल, दीपक कर्ण, पूर्व आइसीसी सदस्य मन थापा, संस्थापक उपाध्यक्ष नरेन्द्र श्रेष्ठ तथा उपाध्यक्ष अञ्जु पौडेलले उक्त सहयोग हस्तान्तरण गरेका हुन्।
त्यसैगरी सोही अवसरमा एनआरएनए घानाका तर्फबाट  अर्थमन्त्री वाग्लेलाई तीन लाख रुपैयाँको सहयोग भानु पाठकले हस्तान्तरण गरेका थिए।

अफ्रिकाका विभिन्न मुलुकस्थित एनआरएनएका शाखाहरूबाट समेत राहत सहयोग प्रवाह भइरहेको छ। यसअघि प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट १३ लाख, तान्जानियाबाट २ लाख ५० हजार, दक्षिण अफ्रिकाबाट १ लाख ५० हजार तथा बोत्सवानाबाट ५० हजार रुपैयाँ बैंकमार्फत पठाइसकिएको छ।

यसैगरी एनआरएनए युगान्डाले ३५ लाखभन्दा मूल्यका टेन्ट, ग्यास सिलिन्डर र चुल्होहरू प्रभावित क्षेत्रमा पुर्‍याई वितरण गरिसकेको छ भने एनआरएनए केन्याले १० लाख रुपैयाँ नगद सहयोग पठाउने भएको छ। अन्य मुलुकस्थित एनआरएनएका शाखाहरू तथा नेपाली समुदायहरूबाट समेत निरन्तर सहयोग प्राप्त भइरहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू