अन्तरराष्ट्रिय धादिङ समाजको बेलायत शाखा गठन, संयोजक चुनिए सुरेन्द्र रुपाखेती

लन्डन- अन्तरराष्ट्रिय धादिङ समाजको बेलायत शाखा गठन भएको छ।
बेलायतमा बसोबास गर्दै आएका धादिङवासीहरूको एकता, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणको उद्धेश्यसहित धादिङ समाज बेलायत गठन गरिएको हो।
समाजको संयोजकमा सामाजिक अभियन्ता सुरेन्द्र रुपाखेती चयन भएका छन्।
धादिङ जिल्लामा घर भइ हाल बेलायतमा बस्नेहरूको हालै सम्पन्न भेलाले समाज गठन गर्दै रुपाखेतीलाई संयोजकको जिम्मेवारी सुम्पिएको हो।
बेलायतमा रहेका धादिङका युवा तथा विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई समेट्दै सामाजिक एकता र सद्भाव कायम गर्ने समाजको मूल उद्देश्य छ।
समाजका संयोजक चुनिएका रुपाखेती विगत डेढ दशकदेखि बेलायतका विभिन्न सामाजिक संघसंस्थामार्फत् सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
उनी एनआरएनए युकेका पूर्वसल्लाहकार हुन्। त्यसैगरी, नेपालीहरूको बाक्लो बसोबास रहेको क्षेत्रको संस्था रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटीका पूर्वप्रवक्ताको जिम्मेवारी पनि उनले सम्हालिसकेका छन्।
रुपाखेती बुद्ध फाउन्डेसन तथा सिर्जनशील लेस्टर नेपाली यूके लगायतका संस्थामा पनि विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन्। बुद्ध फाउन्डेसनमार्फत सञ्चालन भएका सामाजिक तथा परोपकारी अभियानमा समेत उनको सक्रिय सहभागिता रहँदै आएको छ।
विभिन्न संकटका समयमा नेपालमा मानवीय सहयोग पुर्याउन पनि रुपाखेती सक्रिय रहँदै आएका छन्। महाभूकम्प, कोरोना महामारी तथा कालीगण्डकीमा आएको बाढीलगायत प्राकृतिक विपत्तिबाट प्रभावितहरूका लागि बेलायतबाट राहत संकलन गरी नेपाल पठाउने अभियानमा उनले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
संयोजक रुपाखेतीले बेलायतस्थित अन्य सामाजिक संघसंस्थासँग सहकार्य र साझेदारी गर्दै समाजलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, सबै धादिङवासीलाई समेटेर धादिङ समाज बेलायतको प्रथम अधिवेशन आयोजना गर्ने तयारी भइरहेको र चाँडै अधिवेशन गरिने उनले जानकारी दिएका छन्।
गठन भएलगत्तै समाजले नेपालका बाढीपीडित सहयोगार्थ २ लाख ४० हजार सहयोग गरिसकेका छन्।
अन्तरराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले नवगठित बेलायत शाखा र संयोजक सुरेन्द्र रुपाखेतीलाई बधाई एवं सफलताको शुभकामना दिएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


