बुधबार, ९ सेप्टेम्बर, २०२६
09:03 | १३:४८

लन्डन पशुपतिनाथ मन्दिरले बाढीपीडितलाई सहयोग जुटाउँदै तीज मनाउने

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२६

लन्डन- लन्डन पशुपतिनाथ मन्दिरले हरितालिका तीज पर्वका अवसरमा विगत लामो समयदेखि वर्षेनी गर्दै आएको तीज विशेष कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाउने भएको छ।

यही सेप्टेम्बर १४ तारिख सोमबार तीजकै दिन प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा तय कार्यक्रम नेपालका बाढीपीडितको सहयोगमा समर्पित गरिने भएको छ। दिउंसो २ बजेदेखि बेलुका ८ बजेसम्मलाई निर्धारित कार्यक्रमबाट संकलन हुने सबै रकम बाढीपीडितहरुका लागि सहयोग पठाइने भएको छ ।

‘यसपटकको तीजमा नाचगानको रहरले कार्यक्रम गर्न लागेका हैनौं। नेपालमा बाढीले निम्त्याएको विपदमा पर्नुभएकाहरुको लागि केही सहयोग जुटाउन सकिन्छ कि भन्ने हाम्रो कोशिस छ’, कार्यक्रमकी संयोजक एवम् मन्दिर व्यवस्थापन समिति उपाध्यक्ष तारा भट्टराईले भनिन्।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष रोमनाथ पाण्डेले यसपटक फरक सन्दर्भ र उद्धेश्य राखेर आयोजना गर्न लागिएको तीज कार्यक्रममा सबैको सहभागिता र सहयोगका लागि अपील गरेका छन्। ‘यस वर्षको तीज कार्यक्रम विगतका अरु वर्षभन्दा फरक र धेरै महत्वपूर्ण छ। जति सकिन्छ, रकम जम्मा गरेर विपदमा प्रभावित नेपालीहरुसम्म पठाउनु छ’, अध्यक्ष पाण्डेले भने, ‘पशुपतिनाथ मन्दिरको यो सहयोग अभियानमा सबैले साथ, सहयोग दिनुहुनेछ भन्ने आशा लिएका छौं ।’

मन्दिर व्यवस्थापन समिति अध्यक्ष रोमनाथ पाण्डे

मन्दिरको ट्रष्टी बोर्डका संयोजक नरेन्द्र कंडेल पनि यसपटक उत्सव मनाउने नभइ बाढीपीडितहरुको लागि मानवीय सहयोग जुटाउने उद्धेश्यले तीज कार्यक्रम आयोजना गरिएको बताउँछन्। ‘हाम्रो प्रमुख उद्धेश्य नै बाढीबाट प्रभावितहरुको लागि सक्दो सहयोग जुटाउन सकियोस् भन्ने हो’, कंडेलले भने, ‘तीज कार्यक्रममार्फत् मौलिक नेपाली कला, संस्कृति र परम्परा जगेर्नाका लागि लामो समयदेखि मन्दिरले गर्दै आएको प्रयास निरन्तर रहनुलाई पनि सकारात्मक रुपमै लिनुपर्छ।’

मन्दिरकी संरक्षक सरिता पौडेलले बाढीपीडितहरुको सहयोगकै लागि भएपनि कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरिन्। तीज कार्यक्रम सुरुआतको बेलादेखि लामो समयसम्म संयोजन गरेका ट्रष्टी विनोद ज्ञवालीले च्यारिटी उद्धेश्यले हुन लागेको कार्यक्रममा हातेमालो गर्न सिंगो समुदायलाई आव्हान गरे । आफ्नो सुरक्षालाई विशेष ध्यानमा राख्दै कार्यक्रममा आउँदा अनावश्यक रुपमा धेरै गरगहना नलगाउन सुझाव दिए।

मन्दिरका पण्डित निलहरि घिमिरेका अनुसार कार्यक्रमको शुरुमा सामूहिक पूजा तथा मंगलाचरण गराइनेछ। त्यस्तै, बाढीपीडितहरुको सहयोग, उद्धार तथा शान्तिको लागि विशेष प्रार्थना, स्वस्तिवाचन, दीप प्रज्वलनलगायतको कार्यक्रम छ।

सामूहिक आरती र भजनकिर्तन समेत गरिने कार्यक्रमको औपचारिक सत्रमा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत, राजदूतपत्नी, स्थानीय रोयल ग्रीनवीच बरोका मेयर, काउन्सिलरहरुसहित विभिन्न धार्मिक र सामाजिक संस्था तथा समुदायका प्रतिनिधिहरु सहभागी हुनेछन् । सो अवसरमा उपस्थित महिलाहरुको सहभागितामा तीजका गीतहरुमा सामूहिक नाचगान समेत गरिनेछ।

त्यसअघि सोहि दिन बिहान साढे ८ बजेदेखि साढे ११ बजेसम्म मन्दिरमै सामूहिक तीज पूजा तथा आरतीको कार्यक्रम पनि सञ्चालन गरिनेछ।

तीज कार्यक्रममा प्रवेश शुल्क १० पाउण्ड मात्र राखिएको छ तर १० वर्षमुनिका सबैलाई निशुल्क छ । सहभागी व्रतालु तथा सबै महिलाहरुको लागि प्रसाद, फलफूल र जलपानको व्यवस्था गरिनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू