आइतबार, ६ सेप्टेम्बर, २०२६
23:25 | ०४:१०

एनआरएनएको राहत अभियान एघारौं दिन पनि जारी

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२६

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान एघारौं दिन पनि जारी रह्यो ।

बाढी तथा पहिरोबाट विस्थापित परिवारलाई सुरक्षित र स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले आजदेखि नुवाकोटका विभिन्न राहत तथा आश्रय केन्द्र (होल्डिङ सेन्टरमा) मा उच्च गुणस्तरीय पानी शुद्धीकरण प्रणाली वितरण तथा जडान अभियान सुरु गरिएको छ।

एनआरएनएको समन्वय र Protecting Health of Migrants, Immigrants & Refugees (PHOMIR) को सहकार्यमा उक्त अभियान सुरु गरिएको हो। आइसीसी सदस्य तथा पूर्व ग्लोबल हेल्थ कमिटी अध्यक्ष डा. सञ्जीव सापकोटा र अमेरिकामा रहेकी चिकित्सक डा. संगीता शर्माको संयोजनमा PHOMIR मार्फत आर्थिक सहयोग संकलन गरी हाल बाढीपीडितलाई आश्रय दिइरहेका ६ वटा विद्यालय तथा राहत केन्द्रमा पानी शुद्धीकरण उपकरण उपलब्ध गराइएको हो।

उपकरणहरू सर्वप्रथम विदुर नगरपालिकालाई हस्तान्तरण गरी नगरपालिकाको समन्वयमा सम्बन्धित राहत केन्द्र तथा विद्यालयमा पुर्‍याई जडान प्रक्रिया अघि बढाइएको हो । बाढीका कारण पुलहरू बगाएपछि आवतजावत कठिन भएकाले केही पानी शुद्धीकरण उपकरण त्रिशूली नदीपारि रोपवे (तुइन) मार्फत ढुवानी गर्नुपरेको थियो ।

नुवाकोटमा स्वास्थ्य शिविर

बाढी तथा पहिरोबाट प्रभावित भई नुवाकोटको विभिन्न (होल्डिङ सेन्टर) मा बसिरहेका पीडितहरूलाई लक्षित गरी आज पनि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। प्रभावित समुदायको स्वास्थ्य आवश्यकता पहिचान गरी आवश्यक उपचार, परामर्श तथा औषधि उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो। स्वास्थ्य शिविरको नेतृत्व आइसीसी सदस्य तथा पूर्व ग्लोबल हेल्थ कमिटी अध्यक्ष डा. सञ्जीव सापकोटाले गरेका थिए । शिविरमा रहेका ४० जनाको सामान्य चेकजाँच गरी परामर्श दिइएको हो ।

बाढीका कारण रसुवाको उत्तरगया र नुवाकोटको बेत्रावती–विदुर–१० मा एकै परिवारका ७ जनासहित १८ जनाको ज्यान गएको घटनापछि, महिला उपाध्यक्ष राधिका गुरुङ टीका र महासचिव डा चिरन्जीवी खड्काले काठमाडौंको धुम्बाराही–शिवस्थलीस्थित क्रियापुत्री भवन पुगेर किरियामा बसिरहेका मृतक परिवारका सदस्यहरूसँग भेटघाट गरेका छन्।

भेटका क्रममा टोलीले उहाँहरूको वर्तमान अवस्था र तत्काल आवश्यक सहयोगबारे जानकारी लिँदै राहत तथा मानवीय सहयोग अभियानमार्फत आवश्यक सहयोग पु¥याउने प्रतिवद्धता जनाइएको छ ।

अध्यक्ष शर्माको नेतृत्वमा समीक्षा बैठक

एनआरएनएले रसुवा र नुवाकोटमा सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानको प्रगति र आगामी कार्यक्रमको समीक्षा गर्दै अध्यक्ष डा. हेम राज शर्माको नेतृत्वमा रणनीतिक बैठक सम्पन्न गरेको छ।

बैठकले प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा राहत सामग्रीसहित पुग्ने तथा स्वास्थ्य, सरसफाइ र स्वच्छ खानेपानीलाई प्राथमिकतामा राखेर आवश्यक सामग्री र स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको छ।

गोसाइँकुण्ड गाउँपालिकाका जनप्रतिनिधिको अनुरोधअनुसार आवश्यक राहत सामग्री पठाउने र एनआरएनए सदस्य तथा स्वयंसेवकलाई राहत वितरणमा सहभागी हुन आह्वान गर्ने निर्णय भएको छ। साथै, रसुवा–भोटेकोसी क्षेत्रका लागि कोष संकलन अभियानलाई निरन्तरता दिने, वर्तमान तथा पूर्वपदाधिकारीसँग सहयोगका लागि पुनः अनुरोध गर्ने र साझेदार संस्था तथा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्य विस्तार गर्ने तय भएको छ।

दोस्रो चरणको राहतमा स्वास्थ्य सेवा, आवश्यक सामग्री र प्रभावित परिवारको पुनस्र्थापनालाई प्राथमिकता दिइनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू